© 2026
रोल्पा ।
रोल्पा र प्युठानमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । दाङको मुकुर्टी क्षेत्रमा १३२ केभी प्रसारण लाइनको तार चुडिएपछि रोल्पा, प्युठानलगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक जनजीवनसँगै सञ्चार, शिक्षा, व्यापार व्यवसाय तथा विभिन्न सरकारी तथा गैरसरकारी सेवासमेत प्रभावित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका अनुसार दाङको मुकुर्टीमा १३२ केभी विद्युत् प्रसारण लाइनको तार चुडिएपछि रोल्पा र प्युठानतर्फको विद्युत् आपूर्ति अवरुद्ध भएको हो । प्रसारण लाइनमा आएको समस्यालाई तत्काल समाधान गर्न प्राविधिक टोली परिचालन गरिएको र विभिन्न स्थानमा मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार मुख्य प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि प्राविधिकहरू लगातार फिल्डमा खटिएका छन् । कतिपय स्थानमा हावाहुरीका कारण रुख तथा हाँगाबिँगा विद्युत् लाइनमा खस्दा तार चुडिनुका साथै पोलसमेत भाँचिएका छन् । त्यसका कारण मुख्य लाइन मर्मतमा थप समय लागिरहेको बताइएको छ ।
बुटवल पावर कम्पनी लिमिटेड, झिमरुक प्युठानका प्लान्ट म्यानेजर शोभाकर पन्तले रोल्पा र प्युठानमा विद्युत् सेवा पुनः सञ्चालन हुन अझै केही समय लाग्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार विभिन्न स्थानमा हावाहुरीका कारण रुख तथा पोल ढल्दा विद्युत् संरचनामा क्षति पुगेको छ ।
पन्तका अनुसार रामपुरलगायतका विभिन्न क्षेत्रमा सालसल्लाह तथा अन्य प्रजातिका रुखहरू हावाहुरीका कारण ढलेर विद्युत् लाइनमा क्षति पुगेको छ । रुख तथा अन्य वस्तुका कारण तारहरू विभिन्न ठाउँमा चुडिएर टुक्राटुक्रा भएका छन् भने कतिपय स्थानमा विद्युत्का पोलसमेत भाँचिएका छन् । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि प्राविधिक र कर्मचारीहरू रातदिन नभनी काममा खटिएको उनले बताए ।
“साँझ ९–१० बजेसम्म पनि कर्मचारीहरू पोलका खम्बामा चढेर काम गरिरहेका छन् । कोही पोल मर्मतमा छन् भने कोही तार तान्ने र चुडिएका तार जोड्ने काममा खटिएका छन्,” पन्तले भने । उनका अनुसार क्षतिको अवस्था र मर्मत कार्यको प्रगतिका आधारमा रोल्पा र प्युठानमा विद्युत् सेवा भोलि साँझसम्म पुनः सञ्चालन हुन सक्ने सम्भावना रहेको छ ।
विद्युत् प्रसारण लाइनका विभिन्न भागमा क्षति पुगेकाले एउटै स्थानको समस्या समाधान गरेर मात्र सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको प्राविधिकहरूको भनाइ छ । मुख्य लाइनमा विभिन्न ठाउँमा चुडिएका तार जोड्नुपर्ने, भाँचिएका पोल हटाउनुपर्ने तथा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्नुपर्ने भएकाले मर्मत कार्य चुनौतीपूर्ण बनेको छ ।
विद्युत् अवरुद्ध भएपछि रोल्पा र प्युठानका ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । विद्युत् नभएपछि मोबाइल फोन चार्ज गर्न समस्या हुनुका साथै कतिपय स्थानमा मोबाइल टावरसमेत प्रभावित भएका छन् । विद्युत् आपूर्ति नहुँदा टावरमा रहेको ब्याकअप प्रणालीले लामो समय धान्न नसक्दा सञ्चार सेवा पनि प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार नेपाल टेलिकमको नमस्ते तथा एनसेललगायतका मोबाइल टावरहरू कतिपय स्थानमा सञ्चालनमा आउन नसक्दा फोन सम्पर्कमा समस्या भइरहेको छ । विशेषगरी दुर्गम गाउँमा विद्युत् र मोबाइल सञ्चार दुवै प्रभावित भएपछि बाहिरी जिल्लामा रहेका आफन्तसँग सम्पर्क गर्न कठिन भएको स्थानीयले बताएका छन् ।
रोल्पा र प्युठानमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न, फोन सम्पर्क तथा इन्टरनेट प्रयोग गर्न समस्या भएपछि गाउँमा रहेका परिवारसँग सम्पर्क गर्नसमेत कठिनाइ भएको स्थानीयवासीले बताएका छन् ।
विद्युत् अवरोधको प्रत्यक्ष असर विद्यार्थीको अध्ययनमा समेत परेको छ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा परीक्षा सञ्चालन भइरहेका बेला विद्युत् नहुँदा परीक्षा तयारी तथा साँझको समयमा अध्ययन गर्न समस्या भएको विद्यार्थीहरूले बताएका छन् । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरण सञ्चालन गर्न नसक्दा थप समस्या भएको उनीहरूको भनाइ छ ।
त्यस्तै, विद्युत्मा निर्भर पसल, होटल, उद्योग तथा अन्य व्यवसायसमेत प्रभावित भएका छन् । मोबाइल चार्ज, इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालन गर्न नसक्दा सेवाग्राहीले समेत समस्या भोगिरहेका छन् ।
विद्युत् संरचनामा विभिन्न स्थानमा क्षति पुगेकाले मर्मतमा कठिनाइ भएको सम्बन्धित निकायले जनाएको छ । प्राविधिक टोलीले चुडिएका तार जोड्ने, भाँचिएका पोल मर्मत गर्ने तथा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने काम जारी राखेको बताइएको छ । पहाडी भूभागमा पुग्न कठिन हुनुका साथै एकभन्दा बढी स्थानमा क्षति पुगेकाले मर्मतमा समय लागेको अधिकारीहरूको भनाइ छ ।
प्राविधिक टोलीले मुख्य लाइनलाई प्राथमिकतामा राखेर विद्युत् आपूर्ति पुनः सञ्चालनको प्रयास गरिरहेको जनाएको छ । विद्युत् सेवा सञ्चालन भएपछि मोबाइल टावर तथा अन्य सञ्चार संरचनामा समेत विद्युत् उपलब्ध भई सञ्चार सेवा सहज हुने अपेक्षा गरिएको छ ।
लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज, विद्यार्थीको अध्ययन तथा सञ्चार सम्पर्क प्रभावित भएकाले स्थानीयवासीले मर्मत कार्यलाई तीव्रता दिई सेवा यथाशीघ्र सञ्चालन गर्न माग गरेका छन् ।