© 2026
बुटवल ।
रूपन्देहीको सैनामैना नगरपालिका–३ गंगानगरस्थित लामीरह (लामीदह) क्षेत्रमा बहुउद्देश्यीय जलाशय निर्माणको महत्वाकांक्षी योजना अघि बढाइएको छ । रूपन्देही–२ का एमाले उम्मेदवार तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १५ बिघा क्षेत्रफलमा ताल निर्माण गरी करिब ४०० बिघा जमिनमा सिँचाइ सुबिधा विस्तार गरिने बताएका छन् ।
बुधबार लामिरहको अवलोकन गर्न पुगेका पौडेलले यसको महत्वाकांक्षी योजना र अहिलेसम्म भएका प्रयासबारे जानकारी गराएका थिए ।
उनका अनुसार जलाशय निर्माणसँगै सैनामैनाको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुनेछ । हाल वर्षायाममा मात्र निर्भर कृषकहरूलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । “यो केवल सिँचाइको योजना होइन, सैनामैनाको समग्र कृषि, खानेपानी र पर्यटन विकाससँग जोडिएको दीर्घकालीन परियोजना हो,” पौडेलले भने ।
योजनाअन्तर्गत जलाशय निर्माण भएपछि नदी तल्लो बस्ती क्षेत्रमा भूमिगत पानी रिचार्ज हुने अपेक्षा गरिएको छ । यसले खानेपानी आपूर्तिमा दीर्घकालीन सहजता ल्याउने र सुख्खायाममा पानीको अभाव कम गर्ने विश्वास व्यक्त गरिएको छ ।
जलाशय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ ।
ताल वरिपरि हरियाली प्रवद्र्धन, पदमार्ग निर्माण, विश्रामस्थल तथा आकर्षक संरचना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको छ । होटेल तथा रिसोर्ट सञ्चालनको सम्भावना बढ्ने र स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
पौडेलका अनुसार आयोजनाको वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ भने आवश्यक प्राविधिक प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षमै बजेट विनियोजन गरिएको र केही समयभित्रै ठेक्का प्रक्रिया अगाडि बढाइने तयारी रहेको उनले जानकारी दिए । करिब सवा अर्ब रूपैयाँ लागतमा आयोजना सम्पन्न हुने अनुमान गरिएको छ ।
यो आयोजना कार्यान्वयनमा आएपछि सैनामैना मात्र होइन, समग्र रूपन्देही जिल्लाकै कृषि र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने दाबी गरिएको छ । स्थानीय किसान, व्यवसायी तथा सर्वसाधारणका लागि दीर्घकालीन लाभ दिने योजनाका रूपमा यसलाई लिइएको छ ।
पौडेलले जलस्रोतको दीगो उपयोगमार्फत कृषि उत्पादन बढाउने, स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने र साना किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन गरिने बताए ।
“हामी विकासलाई नारामा होइन, परिणाममा देखाउन चाहन्छौं,” उनले भने, “लामीदह परियोजनाले सैनामैनालाई पानी, उत्पादन र पर्यटकीय सम्भावनाको केन्द्र बनाउनेछ ।”
स्थानीय जनप्रतिनिधि, प्राविधिक र समुदायसँग सहकार्य गर्दै पारदर्शी र समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।