Butwal Today

अर्घाखाँचीमा विज्ञान सामाग्री प्रदर्शनी सुरु (फोटो फिचर)

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची १ फागुन ।

विद्यार्थीको नवीनतम प्रतिभाको विकास गर्न अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला स्तरीय विज्ञान सामाग्री प्रदर्शनी सुरु भएको छ ।

विज्ञान शिक्षा प्रवर्द्धन कार्यक्रम अन्तर्गत जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा भएको विज्ञान सामाग्री प्रदर्शनीमा जिल्लाभरका २६ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

विद्यार्थीले विज्ञान विषयमा अध्ययन गरेको आधारमा विभिन्न उपयोगी सामग्री निर्माण गरेको र ती सामाग्री प्रदर्शनीमा राखेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवराज आचार्यले बताए ।

प्रदर्शनीमा राखिएका सामग्रीको मूल्याङ्कन गरी उत्कृष्ट हुने विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद भुसालले जानकारी दिए । प्रथम हुने विद्यालयलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १२ हजार रुपैयाँ र तृतीय हुनेलाई ९ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले विज्ञान सामाग्रीको महत्वबारे प्रकाश पार्दै विज्ञान शिक्षा समयको आवश्यकता भएको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले उत्पादन र आविष्कारका विषयमा धारणा राख्दै स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी नवप्रवर्तन गर्नुपर्नेमा जोड दिए ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले यस प्रकारका प्रदर्शनीले विज्ञानप्रति आकर्षण बढाउनुका साथै विद्यार्थीलाई भविष्यमा प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने बताए  ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाइका प्रमुख विष्णु वेल्वासे, सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्य लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद भुसालको अध्यक्षता, शिक्षक शारदा भट्टराईको स्वागत मन्तव्य र विज्ञान शिक्षक काशीराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?