© 2026
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । ब्यक्तिगत सामाजिक संजाल फेसबुकमा बिभिन्न सामग्री पोष्ट गरेर घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाणगंगा नगरपालिका वडा नम्वर ०८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरु आफनो फेसबुक मार्फत् सार्बजनिक गरेका थिए ।
गत माघ २६ गते भट्टराईले आफनो फेसबुकवालबाट ती कागजातहरु सार्बजनिक गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
उनलाई कपिलवस्तु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिइएको सिंहका भनाइ छ । भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् ब्यक्तिको चरित्रहत्या गर्ने गरेको दाबी प्रहरीको छ ।
भट्टराईमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए ।