वर्तमान समयमा विश्व गहिरो सङ्कटको मार्गबाट गुज्रिरहेको छ ।
सशस्त्र द्वन्द्व, सामाजिक अशान्ति, बढ्दो हिंसा, वातावरणीय क्षय तथा नैतिक मूल्यहरूको स्पष्ट पतनले विभिन्न देशका लाखौँ मानिसहरूको जीवन प्रभावित भइरहेको छ । लोभ, घृणा, असहिष्णुता र अज्ञानताले मानव एकताको बन्धनलाई कमजोर बनाएका छन्, जसका कारण धेरै समुदायहरू डर, असुरक्षा र भविष्यप्रतिको अनिश्चितताले ग्रसित छन् ।
यस्तो नाजुक विश्व परिस्थितिमा सामूहिक आध्यात्मिक र नैतिक प्रयासको आवश्यकता पहिलेभन्दा अझ बढी छ । भौतिक विकास बाहेक मानिसहरूले आन्तरिक रूपान्तरण, मैत्री, करुणा, मुदिता भावना र विश्वशान्तिको आवश्यकताको अपेक्षा गरिरहेको छन् ।
भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी शान्ति, अहिंसा र सहिष्णुताको प्रतीकको स्वरूप उभिएको छ । दुई हजार वर्षभन्दा बढी समयदेखि यसले बुद्धको मैत्री भाव र दुःखबाट मुक्ति सम्बन्धी सन्देशमार्फत सबै संस्कृति र परम्पराका साधकहरूलाई प्रेरित गर्दै आएको छ ।
यही भावनालाई आत्मसात् गर्दै शान्तिको सन्देश व्यापक गर्ने लक्ष्य सहित लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन सन्काएर ललितपुर सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनी स्क्वायरमा २५,००० बत्तीको आध्यात्मिक प्रकाशकला कार्यक्रम आयोजना गरिँदै छ ।
यही फागुन २ गते हुने यस कार्यक्रमको सह आयोजकको रूपमा लुम्बिनी विकास कोष र धम्मकाय फाउन्डेसन थाइल्यान्ड रहेका छन् । यस कार्यक्रमको मुख्य आकर्षण ८०/८० फिटको विश्व वज्र मण्डल लेखन र त्यस मण्डललाई २५००० दीपले सजाउनु हो । टाढाबाट हेर्दा २५००० दीपको मण्डल देखिनेछ । अतः यसको आध्यात्मिक प्रकाशकला राखिएको छ ।
यो आध्यात्मिक प्रकाशकला केवल दृश्य सौन्दर्यमा सीमित नभई गहिरो ध्यानात्मक प्रतीकका रूपमा परिकल्पना गरिएको हो, जसले सहभागीहरूलाई आफ्नै अन्तरमन तथा सम्पूर्ण विश्वमा शान्तिबारे चिन्तन गर्न आमन्त्रण गर्दछ । नेपालमा सुनचाँदी व्यवसायमा आवद्ध ब्यक्तिहरू २५००० भएकोले त्यसको स्मरण स्वरूप २५००० दीप प्रज्वलन गर्न लागिएको हो ।
बौद्ध दर्शनमा विश्व वज्र मण्डलले ब्रह्माण्ड र मानव अस्तित्वको समग्र दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । विश्व वज्र शून्यता दर्शनको प्रतीक हो । यो जगतको यथार्थ स्वभाव शुन्यताज्ञानले युक्त छ भन्ने कुरो विश्ववज्रले संकेत गर्दछ ।
मण्डलको केन्द्रमा स्थापित विश्ववज्रले अविनाशी प्रज्ञा र करुणामय शक्तिको प्रतीकात्मक अर्थ वहन गर्दछ । त्यसैले हजारौँ दीप प्रज्वलन गरी मण्डललाई आलोकित गर्नु नैतिक चेतनाको जागरण तथा अहिंसा (अहिंसा), पारस्परिक सम्मान र साझा जिम्मेवारीमा आधारित विश्वप्रतिको सामूहिक आकांक्षालाई प्रतिविम्बित गर्नु हो । बौद्ध परम्परामा दीप प्रज्वलनको गहिरो आध्यात्मिक अर्थ रहेको छ ।
बुद्धको उपदेश “अप्पदीपो भव” अर्थात आफै प्रकाश बन, आफै सक्षम बन, ले प्रत्येक व्यक्तिले आफ्नै भित्रप्रज्ञा र स्वसक्षमता जागरणको शिक्षा दिन्छ । जसरी दीपले अन्धकार हटाउँछ, त्यसैगरी प्रज्ञाले अज्ञानतालाई नाश गर्दछ । यस अतिरिक्त बौद्ध परम्परा अनुसार दीप अर्पण गर्दा पुण्य उत्पन्न हुन्छ, नकारात्मक प्रवृत्तिहरू शुद्ध हुन्छन् र सकारात्मक मानसिक ऊर्जाको पोषण हुन्छ ।
यस सन्दर्भमा प्रत्येक दीप एउटा प्रार्थना, एउटा प्रतिबद्धता र सबै प्राणीप्रति मैत्री भाव, करुणा, धैर्य र सजगता जगाउने स्रोत बन्दछ । लुम्बिनीको पवित्रभूमिमा जब २५,००० दीप एकसाथ प्रज्वलित हुन्छन्, तिनीहरूले केवल एक कलात्मक प्रस्तुतिमात्र होइन, विविधताभित्रको एकताको जीवित अभिव्यक्ति निर्माण गर्छन् ।
यो प्रकाशले धार्मिक, सांस्कृतिक र राष्ट्रिय सीमाहरूलाई पार गर्दै शान्ति मानवताको साझा मूल्य र साझा गन्तव्य हो भन्ने स्मरण गराउँछ । उज्यालो विश्व वज्र–मण्डलले लोभलाई उदारतामा, घृणालाई मैत्रीभावमा र अज्ञानतालाई प्रज्ञामा रूपान्तरण गर्न सकिने सम्भावनाको प्रतीक प्रस्तुत गर्दछ । यो सामाजिक शान्ति आन्तरिक शुद्धतामा आधारित हुन्छ र यसले प्रत्येक ब्यक्तिमा दिगो समरसता, नैतिक चेतना र करुणामय कर्मको विकास गर्न मद्दत गर्दछ ।
यसरी विश्व शान्तिका लागि आयोजना गरिने यो आध्यात्मिक प्रकाशकला कार्यक्रम लुम्बिनीमा पहिलोपल्ट हो । पहिले यस किसिमबाट आध्यात्मिक दर्शनलाई समेतीमण्डल बनाई दीप प्रज्वलन गरिएको देखिदैन । यसले शान्तिप्रेमी सबै मानिसहरूलाई लुम्बिनीमा एकत्रित हुन, बुद्धका कालजयी सन्देशमा मनन गर्न र सामूहिक प्रकाश प्रज्वलनको कर्ममा सहभागी हुन आमन्त्रण गर्दछ ।