© 2026
भैरहवा ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरू सोमबार कार्यालय समयमै कार्यकक्ष छाडेर क्रिकेट खेल्न गएपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।
नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू दिउँसोको व्यस्त समयमा कार्यालयमै हुनुपर्नेमा खेल खेल्न र हेर्न भन्दै मैदानतर्फ लागेपछि सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको हो ।
सोमबार दिउँसो नगरपालिका कार्यालयको नवनिर्मित भवन पुग्दा अधिकांश शाखाका कुर्सीहरू खाली थिए ।
कार्यालयमा उप–प्रमुख उमा अधिकारी, स्वास्थ्य शाखाको गीता देवी न्यौपाने, प्रशासकीय अधिकृत कमलकान्त खनाल लगायत केही कर्मचारीहरू मात्र कार्यालयमा उपस्थित देखिन्थे । नगर प्रमुख ईस्तियाक अहमद खाँन, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, प्रशासन प्रमुख देव ज्ञवाली, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, जान्हवी पाण्डे, प्राविधिक शाखाका अधिकांश उच्च कर्मचारी कुर्सीबाट गायब थिए ।
उप–प्रमुख उमा अधिकारीले बिहान आफू कार्यालयमा गएको र केही बेर खोपको अनुगमनमा गएको बताउँदै अनुगमनबाट फर्किएर आउँदा नगरपालिकाका दुई–तीन वटा शाखा (बालबालिका र पञ्जी करण शाखा) बाहेक अन्य शाखामा कर्मचारीहरू नभेटिएको बताइन् ।
कर्मचारीहरू मायादेवी गाउँपालिकामा भइरहेको खेलकुद महोत्सवमा नगरपालिकाको टिमको म्याच भएकाले त्यसतर्फ गएको जानकारी प्राप्त भएको उनले बताइन् । सबै कर्मचारी एकै पटक कार्यक्रममा जानु कमजोरी भएको र आगामी दिनमा प्रत्येक शाखामा कम्तीमा एक जना कर्मचारी अनिवार्य रूपमा रहने गरी व्यवस्थापन मिलाउनुपर्नेमा उनले जोड दिइन् ।
नगरपालिकाबाट अधिश ढकाल, तपन पाण्डे, अमित धोबी, पीताम्बर थापा, विष्णु भुषाल, राम कुमार यादव, दिपक पटेल, गोलु यादव, उमेश वृजवासी, विजय कुमार बाल्मिकी, शिवलाल कोईरी, खेमराज गैरे, तुल्सीराम मरासिनी, रमेश यादव, ओमेश गैरे, देवप्रसाद ज्ञवाली, मोहम्मद फारुक, अमित बाँसफोड र मनोज कुमार लोधको नाम क्रिकेट प्रतियोगितामा भाग लिनको लागि नगरपालिकाले पठाएको छ ।
स्वास्थ्य शाखाका कर्मचारीहरू अहिले चलिरहेको खोप कार्यक्रममा रहेको कारण अनुपस्थित थिए । अन्य शाखाका प्रमुख सहित अधिकांश कर्मचारीहरू खेल हेर्ने बहानामा कार्यालयबाट गायब रहेका थिए ।
नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको योजना, स्वास्थ्य शिक्षा, प्राविधिक, घर नक्सा लगायत प्रशासन शाखामा कर्मचारी नहुँदा कामका लागि आएका वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति र अन्य सर्वसाधारण घण्टौँसम्म कुर्न बाध्य भएका थिए ।
भैरहवाको कठौतियाबाट सेवा लिन आएका कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहारले आक्रोश पोख्दै भने, “जनताको करबाट तलब खाने कर्मचारीहरू कार्यालय समयमा काम छाडेर खेल खेल्न जानु गैर जिम्मेवारीको पराकाष्ठा हो । यहाँ कोही बोल्ने मान्छे छैन, सबै कुर्सी रित्ता छन् ।”
कार्यालयका झ्याल–ढोका खुल्लै भए पनि सेवा दिने कर्मचारी नहुँदा कार्यालय भूत बङ्गला जस्तो देखिएको सेवाग्राहीहरूको टिप्पणी थियो । कतिपय सेवाग्राहीहरू स–साना कामका लागि पनि टाढाको बाटो धाएर आएका थिए, तर कर्मचारी नभएपछि काम नगरी घर फर्किन बाध्य भए ।
मेयर र कार्यकारी मात्र होइन, अन्य कर्मचारीहरू पनि नहुँदा टाढा–टाढाबाट आफ्नो गुनासो र समस्या लिएर आएका सेवाग्राहीहरू रित्तो हात फर्किन बाध्य भएको सेवाग्राही कहारले बताए । आफू मात्र नभई धेरै जनता पटक–पटक कार्यालय धाउँदा पनि काम नभएर फर्कनुपरेकोमा उनले दुःख व्यक्त गरे ।
चुनावका बेला भोट माग्न गाउँ–गाउँ पुग्ने तर निर्वाचित भइसकेपछि जनताको सेवा गर्न कार्यालयमा नबस्ने प्रवृत्ति प्रति उनले आपत्ति जनाए । राजनीति गर्ने भए कार्यालय समय बाहेकको समयमा गर्न र कार्यालय समय अनिवार्य रूपमा कार्यालयमा बसेर जनताको सेवा गर्न उनले आग्रह गरे ।
कर्मचारीहरू सामूहिक रूपमा क्रिकेट मैदान पुग्नुले प्रशासनको फितलोपनलाई छर्लङ्ग पारेको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले विगत तीन दिनदेखि नगरपालिकाका कर्मचारी र खेलाडीहरू आधिकारिक रूपमै आयोजना गरिएको क्रिकेट प्रतियोगितामा सहभागी भइरहेको बताए ।
कर्मचारीहरू खेलमा जाँदा सेवाग्राहीलाई असुविधा नहोस् भनेर प्रत्येक शाखामा फोकल पर्सन वा आलोपालो मिलाएर कर्मचारीहरू रहने व्यवस्था मिलाइएको उनले दावी गरे । शाखाको कामकारबाहीमा असर नपर्ने गरी व्यवस्थापन गर्न आफूले प्रशासन महाशाखालाई पहिलो दिनदेखि नै निर्देशन दिएको उनले बताए ।
यदि कर्मचारी नभेटिएर सेवाग्राहीलाई समस्या नै परेको छ भने त्यसलाई तुरुन्तै सुधार गरिने जनाउँदै उनले मंगलबार हुने फाइनल खेलमा पनि खेलाडी र केही आधिकारिक व्यक्तिहरू बाहेक कार्यालयको काम नै रोकिने गरी धेरै सङ्ख्यामा कर्मचारीहरू नजाने जिकिर गरे ।
यसरी कार्यसमयको मर्यादा उल्लङ्घन गर्दै सेवाग्राहीलाई सास्ती दिने कर्मचारीहरूलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् । सुशासनको नारा दिने नगरपालिका आफैँ भद्रगोल बन्दा सर्वसाधारणमा निराशा छाएको छ ।
सिद्धार्थनगर नगरपालिकामा १०४ जना स्थायी कर्मचारी, ७५ जना करारका कर्मचारी र १५१ जना दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी रहेका छन्