© 2026
बैतडी-बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो।
सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए।
‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, अन्य विवरण आएको छैन,’ डीएसपी रायले भने।
बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ।