Butwal Today

फरक शिक्षाका केन्द्र

शिक्षाले समाजको संरचना मात्र बदल्दैन, यसले व्यक्तिगत जीवनमा आत्मविश्वास, आत्मनिर्भरता र सामाजिक सहभागिताको विकास पनि गर्छ । बुटवलका सुस्त मनस्थिति बाल विद्या मन्दिर र साधना महिला विद्यालयले यही उदाहरण प्रस्तुत गरेका छन् ।
२१ माघ २०८२, बुधबार
अ+
अ-

बुटवल ।

शिक्षा हरेक नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यता अहिले बुटवल उपमहानगरपालिकामा मात्र होइन, यहाँका नागरिक र सामाजिक संस्था, अभिभावक र शिक्षा प्रेमीहरूको मनमा पनि गहिरो छ ।

बुटवललाई शिक्षा माध्यमबाट मात्र चिनाउने अभियान नगरले तीव्रता दिएको छ, र यसको प्रभाव समुदायमै देखिन थालेको छ । यस अभियानमा अभिभावक र समाजसेवीहरूको सक्रिय योगदानले यसलाई अझ सशक्त बनाएको छ ।

यस्तै एक उदाहरण हो सुस्त मनस्थिति बाल विद्या मन्दिर, जहाँ फरक बौद्धिक क्षमताका बालबालिकालाई विशेष शिक्षा प्रदान गर्दै समाजको मूल धारमा ल्याउने महत्त्वपूर्ण प्रयास भइरहेको छ ।

बुटवल–७ की गङ्गा कुँवरले आफ्नो १८ वर्षीय छोराको अनुभव साझा गर्दै भनिन्, “छोरालाई बाल विद्या मन्दिरमा भर्ना गरेपछि उसको व्यवहार, आत्मनिर्भरता र सामाजिक क्षमतामा ठुलो परिवर्तन आएको छ । घर नजिकै यस्तो विद्यालय हुनु हामी अभिभावकका लागि अत्यन्त खुसीको कुरा हो ।”

सुस्त मनस्थिति बाल विद्या मन्दिर: बौद्धिक अपाङ्गता भएका बालबालिकाको आशा

बि.सं २०५१ सालमा केवल ४ जना बालबालिकासँग सुरु भएको यो विद्यालय अहिले ८० जना बौद्धिक अपाङ्गता र सुस्त मनस्थितिका बालबालिकाको शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यालयमा दिनको समयमा ४० जना बालबालिका अध्ययनरत छन् भने बाँकी ४० जना घरमै पुगेर शिक्षा र परामर्श सेवा प्राप्त गर्छन् ।

विद्यालयका प्रधानाध्यापक मिना भुसाल भन्छिन्, “हाम्रो विद्यालयमा पढ्ने बालबालिका सामान्य विद्यालयमा सहजै पढ्न कठिनाइ अनुभव गर्ने समूहका हुन् । यहाँ उनीहरूको पाठ्यक्रम फरक छ, व्यवहार, अभ्यास र दैनिक जीवनसँग जोडिएको छ ।

अक्षर चिनाउने भन्दा पहिले बोल्ने अभ्यास, सामाजिक व्यवहार, सरसफाइ र आत्मनिर्भरता जस्ता सीप सिकाइन्छ । स–साना उपलब्धिहरूलाई नै ठुलो सफलता मानिन्छ ।”

विद्यालयमा विद्यार्थीलाई तीन समूहमा विभाजन गरेर शिक्षण गरिन्छ । यसले प्रत्येक बालबालिकालाई व्यक्तिगत ध्यान दिन सजिलो बनाउँछ ।

यहाँ पढ्ने विद्यार्थीहरूमा डाउन सिनड्रोम, अटिजम स्पेक्ट्रम, बौद्धिक अपाङ्गता, र सिकाइसम्बन्धी कठिनाइ भएका बालबालिका छन् । यसरी फरक क्षमता भएका विद्यार्थीको शिक्षामा केन्द्रित प्रणालीले उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

विद्यालयमा हाल ७ जना शिक्षक कार्यरत छन् । नेपालमा अझै पनि बौद्धिक अपाङ्गतालाई रोग, अभिशाप वा लुकाउनुपर्ने अवस्थाको रूपमा हेर्ने सामाजिक मानसिकता बलियो छ ।

यस्तो सोचका कारण धेरै बालबालिका घरभित्रै सीमित रहन्छन्, शिक्षाबाट वञ्चित हुन्छन् र समाजको नजरबाट ओझेलमा पर्छन् । तर बुटवलको सुस्त मनस्थिति बाल विद्या मन्दिरले यिनै बालबालिकालाई समाजको मूलधारमा ल्याउने प्रयास गरिरहेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक शकुन्तला न्यौपानेले भनिन्, “हामी बालबालिकालाई घरमै पुगेर परामर्श सेवा पनि प्रदान गर्दै आएका छौँ । शिक्षण सिकाइमा बालबालिकाको हेरचाह र समग्र विकासमा जोड दिइन्छ ।”

विद्यालयका अध्यक्ष लोकनाथ भुसालका अनुसार विद्यालय स्थापना बालबालिकाकै अभिभावक मिलेर गरिएको हो । “सुरुमा धेरै कठिनाइ र आरोह अवरोह भए पनि आज यो विद्यालय मन्दिरका रूपमा सञ्चालनमा छ ।

यहाँ आउने बालबालिकालाई कुनै शुल्क लाग्दैन । बुटवल उपमहानगरपालिका, आजीवन सदस्य, दाता र दान पेटिकाको सहयोगले विद्यालय सञ्चालित छ”–उनी भन्छन् ।

भुसालका अनुसार, “विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ । कमजोर बालबालिकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी पनि दिइन्छ ।” सङ्घीय सरकारले एक जना स्रोत शिक्षकको व्यवस्था गरेको छ भने बुटवल उपमहानगरपालिकाले वार्षिक अनुदान प्रदान गर्दै आएको छ ।

साधना महिला विद्यालय: हराएको पढाइलाई पुनः जीवन दिने थलो

बुटवल–६ मा अवस्थित साधना महिला विद्यालयले पनि शिक्षाको पहुँच फराकिलो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । धेरै महिलाले बाल्यकालमा पढ्न नपाएको भए पनि यस विद्यालयमा आएर अधुरो पढाइ पूरा गर्न पाएका छन् ।

४५ वर्षीय भगमनी चौधरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “सानो हुँदा पढ्न पाउनुको अवसर मलाई थिएन । यहाँ कक्षा १ देखि सुरु गरेर अहिले कक्षा १० सम्म अध्ययनरत छु । पढाइले मेरो आत्मविश्वास बढायो र समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस भएको छ ।”

साधना महिला विद्यालयमा हाल २४२ जना विद्यार्थी अध्ययनरत छन् । उमेरले ७० वर्ष पुगेकी विष्णु रायमाझीले आफ्नो छोरीलाई पढाउन नहुने भन्ने सोचलाई चुनौती दिँदै आफू पढ्न पाएकोमा खुसी व्यक्त गरिन् । यस विद्यालयको २०६३ सालमा “शिक्षालाई उमेरले रोक्न सक्दैन” भन्ने नारासहित स्थापना गरिएको थियो ।

प्रधानाध्यापक विष्णु गौतम घिमिरेका अनुसार विद्यालयमा कक्षा १ देखि १० सम्म पढाइ हुन्छ । “घरायसी जिम्मेवारी, गरिबी, सामाजिक विभेद र पारिवारिक बन्देजका कारण पढ्न नपाएका महिलालाई मुख्य धारामा ल्याउन हामीले यो विद्यालय स्थापना गरेका हौँ”, उनी भन्छन् ।

साधना महिला विद्यालयबाट अहिलेसम्म १५६ जना उमेर पुगेका वा बिचमै पढाइ छुटेका महिलाले एसइई परीक्षा उत्तीर्ण गरिसकेका छन् । धेरैले जागिरे जीवनमा प्रवेश पनि गरेका छन् । यसले शिक्षा पूरा गर्न ढिला भएको महिला र किशोरीलाई समाजमा नयाँ अवसर र आत्मविश्वास दिएको छ ।

शिक्षा र समाज परिवर्तन

बुटवलका यी दुई उदाहरणले देखाएका छन् कि शिक्षा मात्र ज्ञानको माध्यम होइन, समाज परिवर्तन गर्ने शक्तिशाली उपकरण पनि हो ।

सुस्त मनस्थिति बाल विद्या मन्दिरले बालबालिकालाई आत्मनिर्भर बनाउँदै सामाजिक समानतामा योगदान पु¥याएको छ भने साधना महिला विद्यालयले अधुरो पढाइ पूरा गरेर महिलालाई सशक्त बनाएको छ ।

बुटवलका शिक्षा प्रेमी र समाजसेवीहरूले विद्यालय सञ्चालनमा निरन्तर सहयोग गरिरहेका छन् । बालबालिकाको मुस्कान, आमाको खुसी र समाजमा सकारात्मक परिवर्तन नै यिनको मुख्य मूल्याङ्कन मापदण्ड बनेको छ ।

नगर प्रमुख खेलराज पाण्डेले शिक्षालाई केवल पढाइको माध्यम मात्र होइन, बुटवलको समृद्धि र सामाजिक विकासको आधारभूत स्तम्भका रूपमा लिनुपर्ने बताउँछन् ।

“हामी शिक्षा क्षेत्रमा गुणस्तरीय र सीपयुक्त शिक्षा प्रदान गर्न जोड दिइरहेका छौँ”–नगरप्रमुख पाण्डेको भनाइ छ । उनका अनुसार, नगरको नीति र योजनामा शिक्षालाई सीप, प्रविधि र संस्कारसँग जोडेर अघि बढाइने छ । बालबालिका, किशोरी र महिलालाई मूलधारमा ल्याउने यी प्रयासहरूले बुटवललाई शिक्षा क्षेत्रको मोडल बनाएको छ ।

अन्त्यमा, शिक्षाले समाजको संरचना मात्र बदल्दैन, यसले व्यक्तिगत जीवनमा आत्मविश्वास, आत्मनिर्भरता र सामाजिक सहभागिताको विकास पनि गर्छ । बुटवलका सुस्त मनस्थिति बाल विद्या मन्दिर र साधना महिला विद्यालयले यही उदाहरण प्रस्तुत गरेका छन् ।

जहाँ बालबालिका र महिलाले शिक्षा प्राप्त गरेर आफ्नो अधिकारलाई आत्मसात् गर्छन्, समाजले उनीहरूलाई स्विकार्छ र सकारात्मक परिवर्तनको साक्षी बन्छ । यी विद्यालयले देखाउँछन् कि शिक्षा कहिले पनि ढिला हुँदैन, र उमेर, क्षमता वा सामाजिक परिस्थिति बाधक हुन सक्दैन ।

यहाँ हरेक मुस्कान, हरेक उपलब्धि र हरेक सफलताले प्रमाणित गर्दछ कि शिक्षा नै समाज सुधारको सशक्त साधन हो ।
बुटवलको यी शिक्षा प्राविधिक पहलहरूले सम्पूर्ण नेपालका अन्य स्थानका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

यी संस्थाहरूले देखाएका उदाहरणहरूले पुष्टि गर्छन् कि जब अभिभावक, शिक्षक र समाज एकसाथ आउँछन्, तब शिक्षा केवल ज्ञानको माध्यम मात्र नभई समाज परिवर्तन गर्ने शक्तिशाली साधन बन्न सक्छ । यी विद्यालयहरूले प्रमाणित गरेका छन् कि शिक्षा केवल कक्षाकोठामा सीमित हुँदैन ।

जब समुदाय, अभिभावक र शिक्षक मिलेर प्रयास गर्छन्, तब यसले व्यक्तिको जीवन मात्र होइन, समाजको सोच र संरचनालाई पनि रूपान्तरण गर्न सक्छ । बुटवलका यी उदाहरणहरूले देखाउँछन् कि समावेशी र अवसरपूर्ण शिक्षा समाज परिवर्तनको मार्ग प्रदर्शक बनेको छ ।

वास्तवमै, शिक्षा नै परिवर्तनको पहिलो र सबैभन्दा शक्तिशाली कदम हो ।