© 2026
बुटवल ।
शिक्षा मानव जीवनको ज्योति हो भने रोजगारी बाँच्ने आधार ।
त्यसैले शिक्षा र रोजगारीबिच प्रत्यक्ष, परस्पर र अन्योन्याश्रित सम्बन्ध छ । शिक्षाले व्यक्तिको सोच्ने, बुझ्ने र निर्णय गर्ने क्षमताको विकास गर्दै उसलाई योग्य र सक्षम नागरिकको रूपमा तयार गर्दछ ।
शिक्षाको मूल उद्देश्य व्यक्तिलाई आत्मनिर्भर, उत्पादनशील र समाजप्रति जिम्मेवार बनाउनु हो । त्यसैले शिक्षा र रोजगारीबिचको सम्बन्ध गहिरो र बहु आयामिक छ ।
स्थानीय रोजगारीसँग शिक्षाको सम्बन्ध नेपाल जस्तो विकासशील देशको सन्दर्भमा अत्यन्तै महत्त्वपूर्ण र प्रासाङ्गिक छ । तथापि हाम्रो देश नेपालमा शिक्षा र स्थानीय रोजगारीबिच गहिरो खाडल रहेको छ । एकातिर शिक्षा प्राप्त युवाहरू बेरोजगारीको मारमा छन् भने अर्कोतिर स्थानीय तहमा विकास निर्माणको काममा दक्ष जनशक्तिको अभाव छ ।
यो विसङ्गतिले शिक्षा प्रणालीको प्रासाङ्गिकता, गुणस्तर र बजार अनुकूलतामाथि गम्भीर प्रश्न खडा भएको छ । सङ्घीय लोकतान्त्रिक नेपालको संविधानले स्थानीय स्वायत्तता र विकेन्द्रीकरणमा जोड दिनुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने जिम्मेवारी समेत स्थानीय निकायलाई दिइएको छ ।
त्यस कारण स्थानीय रोजगारीसँग शिक्षालाई जोड्नु अपरिहार्य भएको छ । शिक्षा र स्थानीय रोजगारीबिचको अन्तर सम्बन्ध नेपालको वर्तमान अवस्था, चुनौती, अवसर र समाधानका उपायहरू सम्बन्धमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।
शिक्षालाई रोजगारमुखी बनाउन गर्नुपर्ने काम, स्थानीय तहमा उपलब्ध अवसरहरू सदुपयोग कसरी गर्न सकिन्छ र शैक्षिक संस्थाहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नु पनि यस लेखको उद्देश्य हो ।
शिक्षा केवल औपचारिक कक्षा शिक्षा मात्र होइन, यो जीवन भरको सिकाइको प्रक्रिया पनि हो । शिक्षाले ज्ञान, सिप, मूल्य र दृष्टिकोणको विकास गर्दछ । आधुनिक शिक्षाको मूल उद्देश्य व्यक्तिको सर्वाङ्गीण विकास गर्नुको साथै उसलाई आत्मनिर्भर बनाउनु समेत हो ।
शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउँदै सामाजिक न्याय, समानता र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्दछ । परम्परागत शिक्षा प्रणालीमा पुस्तकीय ज्ञानलाई मात्र प्राथमिकता दिइन्थ्यो तर आधुनिक शिक्षा प्रणालीमा सिप विकास, व्यवहारिक ज्ञान र रोजगारमुखी तालिमलाई विशेष महत्त्व दिइन्छ ।
एक्काइसौँ शताब्दीको शिक्षाले विद्यार्थीहरूलाई आलोचनात्मक सोच, समस्या समाधान, सृजनशीलता र सञ्चार कौशल जस्ता अत्यावश्यक र जीवनोपयोगी क्षमता प्रदान गर्नुपर्दछ ।
नेपालको राष्ट्रिय शिक्षा नीतिले समावेशी, गुणस्तरीय र प्रासाङ्गिक शिक्षाको परिकल्पना गरेको छ । शिक्षा ऐन २०२८ र त्यसपछिका विभिन्न नीति तथा योजनाहरूले शिक्षालाई रोजगारीसँग जोड्ने प्रयास गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन प्रभावकारी ढङ्गले हुन सकेको छैन ।
स्थानीय रोजगारी भन्नाले स्थानीय तहमा उपलब्ध भएका वा सिर्जना गर्न सकिने रोजगारीका अवसरहरूलाई बुझिन्छ । यसमा कृषि, पशुपालन, हस्तकला, पर्यटन, साना तथा घरेलु उद्योग, सेवा क्षेत्र र स्थानीय निकाय तथा स्थानीय प्रशासनसँग सम्बन्धित विभिन्न कार्यहरू समावेश हुन्छन् ।
स्थानीय रोजगारीको प्रवर्धनले व्यक्तिलाई आफ्नै भूमिमा रहेर आर्थिक स्वावलम्बन हासिल गर्न अवसर प्रदान गर्दछ । नेपालको सन्दर्भमा स्थानीय रोजगारीको महŒव अत्यधिक छ । प्रत्येक वर्ष हजारौँ युवाहरू रोजगारीको खोजीमा बिदेसिनु पर्ने बाध्यता छ ।
यसले परिवार विच्छेद, सामाजिक समस्या, मानव पुँजीको ह्रास र राष्ट्रिय सम्पत्तिको बहिर्गमन जस्ता अनेक नकारात्मक प्रभाव पार्दछ, पारेको छ । यदि स्थानीय तहमा रोजगारीका अवसरहरू सिर्जना गर्न सकियो भने यी समस्याहरूको समाधान हुन सक्छ ।
नेपालका ७ सय ५३ वटा स्थानीय तहहरू भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण छन् । कुनै ठाउँले कृषिमा प्रचुर सम्भावना बोकेका छन् भने कुनै ठाउँले पर्यटन, जडीबुटी र सांस्कृतिक रूपले । शिक्षाले ती स्थानीय विशेषताहरूलाई चिन्न सिकाउनुपर्छ । नेपालको अधिकांश हिस्सा कृषिमा आधारित छ ।
यदि स्थानीय विद्यालयहरूले आधुनिक कृषि प्रणाली, माटो परीक्षण, बीउ बिजनको छनोट र बजार व्यवस्थापनको विषयमा शिक्षा दिने हो भने युवाहरूले आफ्नै गाउँमा व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न सक्छन् । यसले गर्दा खेतबारी बाँझो रहने समस्या हल हुन्छ र स्थानीय रोजगारी सिर्जना हुन्छ ।
हिमाल र पहाडका धेरै क्षेत्रहरू पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छन् । स्थानीय शैक्षिक संस्थाहरूले पथप्रदर्शक, होटल व्यवस्थापन र स्थानीय कला संस्कृतिहरूको प्रवर्द्धन गर्ने खालका पाठ्यक्रमहरू समावेश गर्ने हो भने स्थानीय युवाहरूले आफ्नै घर आँगनमा रोजगारी पाउने छन् ।
प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी जस्ता आधारभूत प्राविधिक सीपहरू स्थानीय स्तरमा हरेक घरका लागि अत्यावश्यक हुन्छन् । शिक्षाले यी सीपहरूलाई सम्मानित पेसाको रूपमा स्थापित गराउनु पर्दछ ।
नेपाल सरकारले हालैका वर्षहरूमा केही विद्यालयहरूमा “कमाउँदै पढ्दै” कार्यक्रम सुरु गरेको छ । यो स्थानीय रोजगारीसँग शिक्षालाई जोड्ने एक उत्कृष्ट र नमुना कार्यक्रम हो । यसले विद्यार्थीलाई विद्यालय समयमै व्यावसायिक कार्यमा संलग्न गराउँछ ।
यसले विद्यार्थीमा आत्मनिर्भरताको भावना विकास हुन्छ । पढाइ सकेपछि के गर्ने भन्ने अन्योल रहँदैन । स्थानीय उत्पादनमा वृद्धि हुन्छ । नेपालमा प्राविधिक शिक्षा र स्थानीय रोजगारीको कुरा गर्दा सिटिइभिटी (सिटीइभिटी) को भूमिका महत्त्वपूर्ण छ ।
तर यसका कार्यक्रमहरू सबै जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन् । शिक्षाले केवल जागिर खाने मान्छे मात्र होइन, जागिर दिने (रोजगार सिर्जनाकर्ता) मान्छे तयार पार्नुपर्दछ ।
स्थानीय स्तरमा साना तथा मझौला उद्योगहरूको स्थापना गर्न सक्ने जनशक्ति उत्पादन नै आजको आवश्यकता हो । जब विद्यार्थीले शिक्षाको माध्यमबाट जोखिम लिन र नयाँ आविष्कार गर्न सिक्छ तब मात्रै स्थानीय रोजगारीको ढोका खुल्छ ।
नेपालमा बाँसका सामग्री, हस्तकला, नेपाली कागज र जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा अपार सम्भावना छ । यस्ता क्षेत्रलाई व्यावसायिक रूप दिनको लागि शिक्षा र तालिमको ठुलो भूमिका रहन्छ ।
हरेक वर्ष लाखौँ लाख युवाहरू श्रम बजारमा प्रवेश गर्दछन्, ती मध्ये अधिकांश खाडी मुलुक र मलेसिया जान्छन् । त्यहाँ उनीहरूले कम पारिश्रमिकमा कठिन काम गर्दछन् । यदि ती युवाहरूलाई नेपालमै आधुनिक सीप र व्यावसायिक शिक्षा दिने हो भने उनीहरूले विदेशमा बगाउने पसिना आफ्नै भूमिमा बगाएर देशलाई समृद्ध बनाउन सक्छन् ।
शिक्षाले विदेश जाने होइन स्वदेशमै केही गर्न आत्मविश्वास जगाउनुपर्छ । शिक्षा र स्थानीय रोजगारीको सम्बन्ध बलियो भएमा त्यसले समाजमा बहु आयामिक प्रभाव पार्दछ । आम्दानीको श्रोत स्थानीय स्तरमै भएपछि गरिबी घट्छ ।
गाउँको पैसा गाउँमै रहन्छ र स्थानीय अर्थतन्त्र बलियो हुन्छ । रोजगारीको लागि सहर र विदेश धाउनु नपरेपछि गाउँहरू पुनः गुलजार हुनेछन् । पिछडिएका वर्ग र समुदायले आफ्नो सीप अनुसारको काम पाएपछि उनीहरूको सामाजिक स्तर माथि उठ्छ ।
नेपालको शिक्षा प्रणाली र श्रम बजारको बिचमा समन्वयको अभाव नै आजको प्रमुख चुनौती वा समस्या हो । हाम्रा पाठ्यक्रमहरू धेरै हदसम्म किताबमा मात्रै सीमित छन् । विद्यार्थीले विज्ञान पढ्छन् तर खेतमा मल हाल्न जान्दैनन् ।
अर्थशास्त्र पढ्छन् तर स्थानीय सहकारी कसरी चलाउने भन्ने ज्ञान हुँदैन । हाम्रो समाजमा शारीरिक श्रम गर्नेलाई हेय नजरले हेर्ने गलत प्रवृत्ति छ । शिक्षाले यो मानसिकता परिवर्तन गराउनुपर्छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा आधुनिक प्रविधि र प्रयोगशालाको अभाव छ, जसले गर्दा विद्यार्थीहरू विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी दक्ष बन्न सक्दैनन् ।
पढेपछि विदेश जानुपर्छ भन्ने सोचले स्थानीय रोजगारीका अवसरहरूलाई ओझेलमा पारेको छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । यो स्थानीय रोजगारीसँग शिक्षालाई जोड्ने सुनौलो अवसर हो ।
हरेक पालिकाहरूले आफ्नो क्षेत्रको आवश्यकता अनुसारका स्थानीय पाठ्यक्रम लागू गर्नुपर्छ । जस्तै मुस्ताङमा स्याउ खेती र पर्यटन कार्यक्रम । विद्यालयहरूलाई केवल परीक्षा लिने केन्द्र मात्र नबनाई सीप सिक्ने थलोको रूपमा विकास गरिनुपर्छ ।
शिक्षित युवाहरूलाई स्थानीय स्तरमा व्यवसाय सुरु गर्नको लागि सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने काममा स्थानीय सरकारले समन्वय गर्नुपर्छ ।
शिक्षालाई स्थानीय रोजगारमुखी बनाउन पाठ्यक्रममा परिवर्तन गरी माध्यमिक तहदेखि नै अनिवार्य रूपमा एक प्राविधिक विषय समावेश गरिनुपर्छ । उद्योग र शैक्षिक संस्थाबिच सहकार्यमा जोड दिई स्थानीय उद्योग र विद्यालयहरूबिच सम्झौता हुनुपर्छ ।
यसबाट विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्ने ठाउँ पाउने छन् भने उद्योगले दक्ष कामदार ।
शिक्षकहरूलाई पनि नयाँ प्रविधि र बजारको माग अनुसार समय समयमा तालिम दिनुपर्छ । स्थानीय कच्चा पदार्थबाट के के बनाउन सकिन्छ भन्ने विषयमा विश्वविद्यालयहरूले अनुसन्धान गराउनुपर्छ ।
ग्रामीण क्षेत्रमा पनि इन्टरनेट र कम्प्युटर शिक्षाको पहुँच पु-याउनुपर्छ जसबाट युवाहरूले गाउँमै बसेर विश्वभरका काम गर्न सकुन् । शिक्षा र रोजगारी एउटै सिक्काका दुई पाटा हुन् ।
शिक्षा बिनाको रोजगारी दिगो हुँदैन र विना रोजगारीको शिक्षा अर्थहीन हुन्छ । नेपालको समृद्धिको सपना तब मात्र पूरा हुन्छ जब हाम्रो शिक्षा प्रणालीले हाम्रा स्थानीय श्रोत, साधन र सम्भावनाहरूलाई सम्बोधन गर्दछ ।