Butwal Today

राष्ट्रिय संवत् संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका 

१८ माघ २०८२, आइतबार
अ+
अ-

ऐतिहासिक पक्ष

राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी तत्कालीन कान्तिपुरका राजा राघवदेवको स्वीकृतिमा नेपाल संवृतको सुरुवात गरेका थिए । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

वि.सं. ९३६ को कात्तिक २२ गते (कार्तिक शुक्ल प्रतिपदा) (२० अक्टोबर ई.सं. ८७९) देखि भएको मानिन्छ । नेपाल सम्वत्को एक वर्ष चान्द्रमास (Lunar calendar) मा आधारित हुन्छ, जसमा सामान्यतया ३५४ दिन हुन्छ र तर प्रत्येक तीन वर्षमा एक अतिरिक्त महिना (अधिकमास) थपिएर १३ महिनाको वर्ष (३७८ दिन) पनि बन्छ । यसको नयाँ वर्ष म्हः पुजाबाट शुरु हुन्छ ।

नेपाल संवत् सुरुवात सम्बन्धमा बिभिन्न सिद्धान्त÷मत एवं किवदन्तीहरू प्रचलनमा रहेको पाईन्छ । विशेष गरी भक्तपुरका ज्योतिष सिद्धिवन्त जोशीले स्वर्ण आकर्षण योग पहिचान गरी बागमती र विष्णुमतीको संगमस्थन लखुतिर्खबाट बालुवा निकाली राख्दा त्यो बालुवा पछि सुनमा परिणत हुने बताएपछि राजाआनन्ददेवले सोही बमोजिम बालुवा लिन कामदारहरू खटाए ।

स्वर्ण आकर्षण योग बारे जानकारी पाएका शंङ्खधर साख्वाले साईतमा झिकेको बालुवा लिई भक्तपुरतर्फ जाँदै गरेका कामदारलाई लोभ लालचमा पारी उक्त बालुवा आफ्नो घरमा पु¥याउन लगाए र उक्त बालुवा सुनमा परिणत भई धन आर्जन गरेका थिए । ति कामदारहरूले पछि पुनः सोही स्थानबाट बालुवा लगि भक्तपुर पु¥याए तर त्यो बालुवा सुनमा परिवर्तन भएन ।

शंङ्खधर साख्वाले तत्कालीन राजा राघवदेवको स्वीकृती लिई आफ्नो धन तत्कालीन समयमा गरिब जनताको ऋण मोचन गरी नेपाल देशको नाममा नेपाल संवत् चलाए र यो संवत् नेपाल संवत् नेपालमण्डलभरी लामो समयसम्म प्रयोगमा थियो । नेपाल मण्डलमा बिभिन्न सम्वत्हरू प्रचलनमा रहदै लोप हुंदै गएको पाईन्छ । विशेष गरी नेपालमा मध्यकालदेखि राणाकालसम्म नेपाल सम्वत्ले राज्यस्तर एवं जनस्तरमा ब्यापक रूपमा प्रयोग भएको पाईन्छ ।

आधुनिक नेपालको एकिकरणकर्ता/गोर्खाका राजा पृथ्वी नारायण शाहले गोर्खा राज्य विस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपाल संवत्लाई हटाएर शक संवत् प्रयोगलाई प्राथमिकता ल्याउने काम भयो ।

उनले विशेषतः पाटन विजय पछि शक संवत् उल्लेख गरी आफ्नो नाम अङ्कित चाँदीको मोहर प्रचलनमा ल्याएका थिए । नेपाल अङ्ग्रेज युद्ध समाप्ति पछि शाह राजाहरू कमजोर एवं गृह कलहमा परेपछि जङ्गबहादुर राणा नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासि शक्ति हासिल गर्न सफल भएका थिए ।

उनले आफ्ना पुर्खाहरू भारतको चित्तौडगढबाट राजपूत राणाजीका सन्तानहरू रहेको भनी आफूलाई राजपुत वंशसंग जोड्न लगाए र आफ्नो वंशावली वि. सं. १९०५ वैशाख महिनाको १३ गते तत्कालीन राजा सुरेन्द्र विर विक्रम शाहबाट सदर गराई राणाँजी उपाधि हासिल गरे ।

त्यो वंशावलीले उनलाई राज खलकसँग नाता जोड्न र कुँवरबाट राणा बन्न बाटो खोल्यो र पछि श्री ३ महाराजको उपाधि लिई श्रीपेच समेत प्रयोग गरे । जंगबहादुर राणाले बेलायत भ्रमण पश्चात आफुलाई शुद्ध र माथिल्लो जातको हिन्दु प्रमाणित गर्न वि.सं. १९१० पुस २३ गते मुलुकी ऐन १९१० जारी गरे ।

जसको कारण नेपालमा जातिय ब्यवस्था सरकारी तहबाट नै कानुनी रूपमा प्रश्रय पायो । प्रधानमन्त्री चन्द्र शमशेरको पालासम्म शक संवत् र नेपाल संवत् नै सरकारी कामकाजमा प्रयोग हुन्थ्यो । नेपाल मण्डलको मुख्य चाडपर्व नेपाल संवत्लाई नै मुख्य संवत् मानेर सञ्चालन हुंदै आएको छ ।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरले जंग बहादुर राणा कै पदचाप पछ्याउँदै हिन्दुत्वलाई प्राथमिकतामा राखी पं. हेमराज शर्मा र पं. भुवननाथ पाण्डे लगायतका ज्योतिषहरूको सल्लाह बमोजिम नेपालको पञ्चाङ्ग संसोधन गर्न लगाए । प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम संवत् १९६० बैशाख कृष्ण द्वितिया तिथिका दिन बैशाख १ गतेबाट बिक्रम संवत् क्यालेन्डर औपचारिक रूपमा सरकारी कामकाजमा प्रयोगमा ल्याएका थिए ।

यो सौर्य मानकमा आधारित क्यालेन्डर हो । राज्य तहबाट नै विक्रम संवत् प्रयोग भएपछि यो संवत् बाध्यकारी एवं लोकप्रिय हुन गएको हो।चन्द्र शम्शेरको यो कदमले नेपाल संवत् लामो समय राज्यबाट बहिष्करणमा प¥यो ।

नेपाल संवत् बिभिन्न बौद्ध ग्रन्थहरू, भारत कुचविहारका राना प्राणनारायणले नेपाल संवत् ७५३ उल्लेख गरी निकालेको ससुवर्ण मुद्रा, शाहवंशीय राजा प्रतापसिंहको पालामा भएका नेपाल संवत् ८९५ उल्लेखित भोटसितके सन्धिपत्र आदिमा प्रयोग भएको थियो ।

नेपाल संवत् उपयोग भएको हालसम्म प्राप्त प्राचीन अभिलेखमा संवत् ४० को अष्टसाहस्रिक प्रज्ञापारमिताको ग्रन्थ हो जुन पाटनको रुद्रवर्ण महाविहारमा सुरक्षित छ । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले नेपाल सम्वत्का प्रर्वतक शङ्खधर साख्वालाई मिति २०५६।०८।०३ गते राष्ट्रिय विभूति घोषत गरिएको थियो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०६५ कात्तिक ७ (ने.सं. ११२८ कौलागा दशमी) का दिन नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार रहँदा नेपाल सरकार मन्त्री परिषद् बैठक नं. ४०/०८०, मिति २०८०।७।२७ गतेको बैठकबाट “नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने “निर्णय पारित भएपछि नेपाल संवत् प्रयोगले ब्यापकता पाएको थियो । उक्त निर्णय कार्यान्वयनको लागि श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८०/८१, च.नं. २५७, मिति २०८०÷०९÷२३ गते सबै जिल्ला समन्वय समिति, गाँउपालिका÷नगरपालिकालाई पत्राचार भएको थियो ।

त्यसैगरी गृह मन्त्रालयको प.सं. ०८०।८१, च.नं. ५१८, मिति २०८०।०९।२६ गते गृह प्रशासन अन्तरगत सबै निकायहरूमा पत्राचार भएको थियो । नेपालको संविधानको अनुसुची ८ मा स्थानीय तहको एकल अधिकार सुचीमा “भाषा, संस्कृति र ललितकला संरक्षण र विकास“ रहेको छ ।

तसर्थ स्थानीय तहले नेपालको मौलिक संवत्, राष्ट्रिय संवत् प्रवर्दन गर्न तथा प्रयोग गर्न अब ढिलो गर्न हुन । नेपाली माटोमा हुर्केको राज्यसत्ताबाट शताब्दिऔ सम्म वहिष्करणमा पर्दा समेत जनस्तरमा जिवन्तता दिन सक्षम गौरवमय ईतिहास बोकेको नेपाल संवत् प्रचलनमा ल्याई नेपाल सरकारको निर्णय कार्यान्वयन एवं संस्कृति संरक्षणमा योगदान दिने समय आएको छ । नेपालमा जतिपनि चाडपर्व, जात्रा मेला, नेपाल संवत्को चन्द्रमास पात्रो अनुसार नै मनाईंदै आइएको छ ।

नेपाल संवत्को ज्ञान विना त नेपालको इतिहास र संस्कृति अध्ययन असम्भव नै छ । नेपालको इतिहास र संस्कृति अध्ययनमा सबैभन्दा महत्वपूर्ण संवत् नेपाल संवत् नै हो । वास्तवमा ईतिहास प्रति सम्मान गर्नु हुन्छ गौरव गर्नु हुन्छ भने त्यो नेपाल संवत् जसको शुरुवाती बिन्दु नै परोपकार एवं सामाजिक उत्थान केन्द्रित छ त्यसलाई प्रर्वदन एवं प्रयोग गर्नु पर्ने हुन्छ । हाल बि.सं. संगै नेपालको राष्ट्रिय, मौलिक एवं गौरवमय संवत् नेपाल संवत् प्रयोग गर्दा नेपालको गौरवमय ईतिहासले प्राथमिकता पाएको ठहर्छ ।

नेपाल संवत् कार्यान्वयनमा उदासिनताः

नेपालको ७५३ स्थानीय तह संघियताको अवधारण अनुसार जनताको नजिकको सरकार हो । कतिपय स्थानीय तहले नेपाल सरकारको नेपाल संवत् प्रयोग सम्बन्धमा गरेको निर्णय कार्यान्वयन उदासिनता देखाएको छ । स्थानीय तहको आधिकारिक वेभसाईटहरूमा जारी भएका सार्वजनिक सूचनाहरू नेपाल संवत् प्रयोग नहुनुबाट पनि प्रष्ट हुन्छ ।

विशेष गरी केही केही नगरपालिकाहरूले समय समयमा प्रयोग गर्ने र समय समयमा प्रयोग नगर्ने प्रवृत्तिलाई निरन्तरता दिएको देखिन्छ भने कतिपय स्थानीय तहले आफ्नो लेटरहेडमा जारी सार्वजनिक सूचनाहरूमा अहिलेसम्म पनि नेपाल संवत् प्रयोग ल्याएको छैन ।

नेपाल सरकार निर्णय गर्ने कार्यान्वयन भए/नभएको अनुगमन नगर्ने प्रवृत्तिले गर्दा पनि नेपाल संवत् प्रयोगमा स्थानीय निकायहरूले उदासिनता देखाएको प्रष्ट हुन्छ । तसर्थ संघीय/केन्द्रिय सरकारले प्रदेश तह र स्थानीय तहमा आफ्नो निर्णय कार्यान्वयनको अवस्था के कस्तो छ यकिन गर्नु जरुरी हुन्छ, जसबाट सरकारको जवाफदेहिता र विश्वसनीयता कायम गर्न सघाउ पुग्ने देखिन्छ ।

सर्वसुलभताः
अहिले नेपालको लोकप्रिय: Mobile App मा हाम्रो पात्रो, नेपाली पात्रो र वेभ साईट www.nepalsambat.com मा नेपाल संवत् मिति, तिथीहरू भेटिन्छ र जुन हरेक ब्यक्तिले नेपाल सम्वत्को मिति यकिन गर्न सजिलो भएको छ ।

अबको बाटोः
नेपाली माटोमा विकास भएको नेपालको आफ्नै मौलिक संवत् जर्गेना गर्नु तपाई हामी सबैको कर्तब्य हो । स्थानीय सरकारले पारर्दशिता र सुशासन कायम गर्न संघिय सरकारको निर्णय कार्यान्वयनमा लैजाने जनतालाई सुशासनको अनुभूती दिलाउन अब ढिलो गर्न हुन्न ।

नेपालको संविधान २०७२ अनुसार भाषा, संस्कृति र ललितकलाको विकास स्थानीय तहको एकाधिकार अन्तरगत रहेको हुंदा यसको प्रवर्दनको मुख्य जिम्मेवारी स्थानीय सरकारको नै हो । यहाँ हामीले के बुझ्न जरुरी छ भने हाम्रो संस्कृती, हाम्रो ईतिहासको कदर एवं सम्मान हामीले नै कायम गर्दै जाने हो । संविधानको प्रस्तावनामा वहुभाषिक, वहुसंस्कृतिक समाजमा समावेशी समतामुलक समाज निर्माण गर्न तपाई हामी सबै एकताबद्ध हुंदै नेपाल सरकारको निर्णय अनुसार “नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय कार्यान्वयन गर्नुपर्छ । यो नेपाल सरकारको निर्णय कार्यान्वयन हुनु पनि सुशासनको अनुभूति हो ।

विशेषतः जनताको नजिकको सरकार स्थानीय तहले नेपाली माटोमा हुर्केको मौलिक एवं राष्ट्रिय संवत् प्रयोगमा ल्याउनुपर्छ र यसबाट नेपालको गौरवमय ईतिहास र संस्कृति संरक्षणमा योगदान पुग्ने देखिन्छ । नेपाली माटोमा हुर्किएको एउटा गणित एउटा संवत् जो शताब्दीऔ देखी चलन चल्तीमा रह्यो अबका पुस्ताहरूमा त्यो अमूर्त सम्पदा हस्तान्तरण गर्ने र त्यो समयमा परोपकारसमाज सेवाको महत्व दर्शाउने नेपाली ईतिहास पुस्तान्तरण गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने समय आएको छ ।

समयको महत्व बुझ्दा मात्र हामीले हाम्रो पहिचान र संस्कृति संरक्षणको माध्यमबाट एकताबद्ध हुने अवसर मिल्नेछ । त्यसैले सबैमा नेपालको मूर्त अमूर्त सम्पदा संरक्षणमा चेतना जागृत गराउनु आजको आवश्यकता हो ।