Butwal Today

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

लुम्बिनी ।

राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सङ्घीयता, शासकीय स्वरूप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यलगायत विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रको समेत स्वामित्व लिने प्रतिबद्धतासहित भ्रष्टाचारलाई देशद्रोही सरह घोषणा गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बिमालगायत विषय पार्टीको नीति रहेको उल्लेख छ ।

पार्टी अध्यक्ष केशवबहादुर थापा सूर्यवंशीले पार्टीले स्थापनाकालदेखि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै भ्रष्टाचार राज्य द्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन नै जेनजी आन्दोलनको उद्देश्य रहेको पार्टीको बुझाइ रहेको र  भ्रष्टाचारविरूद्व कडा कदम चाले मात्रै मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने धारणा राखे ।

पार्टीका महासचिव टोप अस्लामीले नेपालको संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि लाग्नुपर्नेमा जोड दिए । उनले शक्तिशाली आयोग गठन गरी त्यसको सुझावको आधारमा राज्यको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सचिव मोजिव अलीले आफ्नो पार्टीले प्रत्येक्षतर्फ लुम्बिनी प्रदेशका १० स्थानसहित देशका १७ क्षेत्रमा उम्मेदवार उठाएको र समानुपातिकमा १२ जना उम्मेदवार रहेको जानकारी दिए । रासस