नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य बिमामा आबद्ध बनिसकेका छन् ।
बिमामा आबद्धता हुनेहरुमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा सङ्ख्याका आधारमा रेसुङ्गा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ ।
उक्त नगरपालिकामा २५ हजार २१२ व्यक्ति बिमामा आबद्ध भएका छन् । त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरुमा रहेको जनसङ्ख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बिमा दर्ता अभियानमा नागरिकहरुले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताए । उनले यस आर्थिक वर्षमा पालिका भित्र ९० प्रतिशत बिमित पुर्याउने योजना रहेको बताए ।
अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइएको जानकारी दिए ।
त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार २६१, चन्द्रकोट गाउँपालिकामा छ हजार ५१७, धुर्कोट गाउँपालिकामा १० हजार ७३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५७३ र गुल्मीदरबारमा १० हजार ४३१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार ७९०, कालिगण्डकीमा छ हजार ८२१, मदाने गाउँपालिकामा तीन हजार ९३२, मालिका गाउँपालिकामा आठ हजार ४५१ र सत्यवती गाउँपालिकामा १६ हजार १९० जना नागरिक स्वास्थ्य बिमामा आबद्ध बनिसकेको बताइएको छ ।
जिल्लामा छ वर्षको अवधिमा कुल जनसङ्ख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताए ।
जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन् ।
विगत वर्षहरुको तुलनामा जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् । रासस