© 2026
काठमाडौँ, १५ माघ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन् ।
फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा उनले छलफल गरेकी थिइन । सो छलफलका क्रममा प्रमुख डङ्गोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा नराख्न मातहतका निकायलाई निर्देशन दिएकी छन् ।
उनले भनिन्, “तोकिएको समय र विधिबाट फोहर सङ्कलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । आफू जिम्मेवार नबन्ने, अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।”
उनले नागरिकसँग जोडिएका विषय महानगरको प्राथमिकतामा रहेको उल्लेख गरिन । छलफलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी थिए । उनीहरूले महानगरपालिकाका निर्देशनको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता जनाए । छलफलमा फोहरलाई स्रोतमा वर्गीकरण गर्ने, सङ्कलन गर्ने समय र विधि निश्चित गर्ने, फोहर सङ्कलन गर्न जानु पूर्व सूचना दिने जस्ता विधिलाई अभ्यास गर्ने लगायतका विषयमा कुराकानी भएको थियो ।
कामपाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न सात क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको पनि वातावरण विभागले जनाएको छ । रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई महानगरले प्रवर्द्धन गरिरहेको जनाएको छ । रासस