© 2026
काठमाडौँ ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३७ रन र सीता राना मगरले नटआउट २७ रन बनाइन् । नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेदरल्यान्ड्सकी बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन् । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् ।
यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो प्रतियोगितामा लगातार तेस्रो जित हो । १० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा प्रवेश गर्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।