© २०२३
बुटवल। रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
रुपन्देहीको क्षेत्र नम्बर १ देवदह नगरपालिकाको बहुउद्देश्यीय भवन, शितलनगरमा रहेको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा कपिल पौड्याल खटिएका छन्।
क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा राजेन्द्र न्यौपाने खटिएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिरमा स्थापना गरिएको छ।
क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका मझगाँवामा राखिएको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा टोपबहादुर विष्ट खटिएका छन्। क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन अधिकृतको रूपमा गोपीकृष्ण रेग्मीलाई जिम्मेवारी दिइएको छ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत खटिएका छन्। उनले निर्वाचनलाई राजनीतिक दलहरूको उत्सवको रूपमा चित्रण गर्दै उनले स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि आयोग र राज्यका सबै संयन्त्रहरू लागिपरेको जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ।
रुपन्देहीमा २०९ वटा मतदान स्थल, ७३२ वटा मतदान केन्द्र रहेका छन्। कुल मतदाता ६ लाख ७२ हजार ५२३ जना (फागुन २० सम्म १८ वर्ष पुग्ने) मध्ये ३ लाख २६ हजार ३११ जना महिला र ३ लाख ४६ हजार २०३ जना पुरुष र ९ जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए।
फागुन महिनाका लागि तय गरिएको मुख्य कार्यतालिका अनुसार माघ ६ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। फागुन ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय, फागुन ८ गते उजुरी उपर जाँचबुझ र बेलुका ७ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। फागुन ९ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिने कार्यक्रम रहेको बस्नेतले बताए । फागुन २१ गते मतदान हुनेछ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको बताए।
उम्मेदवार, कर्मचारी र मतदाताको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा अङ्गहरु सूक्ष्म रूपमा खटिएको उनले जानकारी दिए। साथै, निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउन र आचारसंहिताको पूर्ण पालना गर्न उनले राजनीतिक दलहरूलाई अपिल गरेका छन्।