© २०२३
अर्घाखाँची । माघे संक्रान्तिको अबसरमा अर्घाखाँची सन्धिखर्कको त्रिवेणी धाममा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सञ्चालन भएको छ ।
बागी खोला, घोचेखोला र भद्री खोला गरी ३ वटा खोलाको संगम स्थलका रुपमा चिनिने चुत्राबेसीको त्रिवेणीमा विहानै देखि नुवाउने तथा साधुसन्तलाई दान गर्नेहरुको भीड लागेको थियो । मकर संक्रान्तीमा यस त्रिवेणाीधाममा नुवाएर साधुसन्तलाई दान गरेमा यसु लोक तथा परलोकमा समेत मुक्ति मिल्दछ भन्ने धार्मिक मान्यता रहेको छ ।
सन्धिखर्क नगरपालिका ८ किमडाडामा उत्पादन गरिएको अर्घाखाँची अरविका कफी उद्योगले उत्पादन गरेको अर्गानिक कफी, मह, तरकारीमा फुलकाउली, बन्दा गोभी, साग, च्याउ, फलफुलमा केरा, सुन्तला, मौसम, अन्नबालीमा धान तथा मकैवाली औद्योगिक वस्तुमा हातहतियार, खुकुरी, खुडा, ढाकाका सामग्री राखिएका छन् ।
स्थानीय उत्पादनको रुपमा रहेको हिमाली च्याउ आदि कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको मुख्य आकर्षक रहेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताए ।
उद्योग वाणिज्य संघ अर्घाखाँचीको मुख्य आयोजनामा भएको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको फुलमा पानी हालेर सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उदघाटन गरे ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख श्रेष्ठले भान्सामा नभै नहुने कृषिसंग सम्बन्धित तरकारी तथा फलफुल, बाली, अन्न वाली, मसला बाली, कफी, ढाका तथा कृषि संग सम्बन्धित सामग्रीहरु राखिएको र प्रद्रशनीमा राखिएका विभिन्न विदागत रुपमा उत्कृष्ट उत्पादनलाई पुरस्कारको ब्यबस्था गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले यस्ता मेलाको संरक्षणमा सबै लाग्नु पर्ने बताए । स्थानीय स्तरमा उत्पादन गर्ने कृषकको मनोवल बढाउन तथा उत्पादनलाई देखाएर अन्य कृषकलाई कृषि पेशामा लाग्न प्रेरणा मिल्ने भएकाले कृषि प्रदशनी तथा औद्यौगिक प्रदशनी मेलाको सञ्चालन गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले बताए ।
मेलामा कृषि, औद्योगिक सामाग्रीको प्रदशनी साथै ख्याती प्राप्त लोक गायकहरु बसन्त लम्साल, कमल भट्टराई, आस्मा बन्जाडे, ठाकुर गन्धर्व, बेगमान गन्धर्ब लगायतका कलाकारहरुले गीत तथा आफ्नो सिर्जनाबाट उपस्थित भक्तजनलाई भरपुर मनोरञ्जन प्रदान गरेको लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बलबहादुर रायमाझीले बताए ।
उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका कार्यालय लगायतका कार्यालयले समेत आयोजकको भूमिका निर्बाह गरेका थिए ।