© २०२३
लमही, ३० पुस ।
पुसको अन्तिम घामले देउखुरीको फाँट न्यानो बनाउँदै छ।
थारु बस्तीका आँगन–आँगनमा चुल्हो बलिरहेको छ। महिलाहरू ढिक्री कुटिरहेका छन्, कतै माछा सफा हुँदै छ त कतै घोगी उम्लिँदै छ। पुरुषहरू सुँगुर काट्ने तयारीमा छन् भने युवायुवतीहरू ढोल–मादलको तालमा नाचगानको अभ्यासमा व्यस्त छन्। माघी आउँदै छ, र थारु बस्तीमा जीवन आफैँ उत्सव बनेको छ।
दाङको थारु बाहुल्य क्षेत्र देउखुरी यति बेला घर फर्किनेहरूको गन्तव्य बनेको छ। रोजगारी, अध्ययन र बाध्यताले टाढिएका छोराछोरीहरू माघी मनाउन घर फर्किरहेका छन्। माघी केवल पर्व होइन, यो भेटघाटको बहाना हो, सम्झनाको पुल हो र नयाँ सुरुवातको सङ्केत पनि हो ।
थारु समुदायका लागि माघी नयाँ वर्ष हो । पुसको अन्तिम रातसँगै पुरानो वर्ष बिदा हुन्छ र माघको पहिलो बिहान नयाँ आशा बोकेर उदाउँछ। यही दिन परिवारका सबै सदस्य भेला हुन्छन्, घरको मुखिया चयन हुन्छ, आगामी वर्षको खर्च–व्यवस्थापन र कामको बाँडफाँड गरिन्छ ।
थारु बुद्धिजीवी छबिलाल कोपिला भन्छन्, “माघी थारु समाजको सामाजिक संविधान हो। यही दिन हामी भविष्यका योजना बनाउँछौँ र विगतका गल्ती सुधार्ने प्रतिबद्धता गर्छौँ।”
माघीको बिहान नदी, पोखरी वा तलाउमा स्नान गरेर थारु समुदायले शुद्धता र पुनर्जन्मको विश्वास गर्छ । चिसो पानीमा डुबुल्की मार्दा शरीर मात्र होइन, मन पनि हलुका हुने विश्वास छ । त्यसपछि घर फर्किएर सामूहिक भोजन हुन्छ—ढिक्री, माछा, घोगी, चिचर र स्थानीय स्वादले भरिएको थाल ।
यी परिकार केवल खानाका साधन होइनन्, थारु संस्कृतिको परिचय हुन् । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका स्वादले आज पनि समुदायलाई एकै सूत्रमा बाँधिरहेका छन् । माघीसँगै देउखुरीका विभिन्न स्थानमा मेला पर्व लाग्छन् ।
स्थानीय उत्पादन, हस्तकला, खानाका परिकार र सांस्कृतिक प्रस्तुतिले बजार तात्छ । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाएको छ। पछिल्ला वर्षहरूमा माघी पर्व हेर्न आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ, जसले थारु संस्कृतिलाई पर्यटनसँग जोड्ने सम्भावना पनि देखाएको छ ।
माघी थारु समुदायको प्राचीन चाड हो। कृषि जीवनशैलीसँग गाँसिएको यस पर्वले मौसम चक्र, फसलको मूल्य र सामुदायिक सहकार्यलाई प्रतिनिधित्व गर्छ। इतिहासमा माघी गाउँको सामूहिक निर्णय गर्ने थलो थियो मुखिया चयनदेखि सामाजिक न्यायसम्मका विषय यहीँ टुङ्गिन्थे ।
आज माघी थारु समुदायमा मात्र सीमित छैन। विभिन्न जातजाति र समुदायले सम्मानका साथ मनाउन थालेका छन्। यसले सांस्कृतिक विविधताबिच सहअस्तित्व र राष्ट्रिय एकताको सन्देश दिएको छ।
यद्यपि समयसँगै आधुनिकता र भूमण्डलीकरणको प्रभावले मौलिक संस्कारहरू ओझेलमा पर्ने जोखिम बढेको छ। युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु आजको ठुलो चुनौती बनेको छ। तर पनि माघी पर्व अझै थारु पहिचानको मेरुदण्ड बनेर उभिएको छ।
माघी केवल एक दिनको उत्सव होइन, यो थारु जीवनको दर्शन हो—जहाँ श्रमको सम्मान हुन्छ, परिवारको महत्त्व बुझिन्छ र भवियदिष्यप्रति आशा रोपिन्छ। देउखुरीको फाँटमा बल्ने माघीको आगोले थारु समुदाय मात्र होइन, समग्र नेपाली समाजलाई समृद्धि र सहिष्णुताको सन्देश दिइरहेको छ।