© 2026
नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका दुई युवाको सम्झनामा नेपालगन्ज मा अर्धकदको सालिक निर्माण गरिएको छ ।
गत भदौ २३ गते काठमाडौँमा भएको ‘जेनजी आन्दोलन’ क्रममा ज्यान गुमाएका धम्बोझीका ई. सुलभराज श्रेष्ठ र आयुष थापाको सम्मानमा यो सालिक निर्माण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१, वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र परिसरमा उनीहरूको अर्धकदको सालिक स्थापना गरिएको छ ।
सहिदको सम्झनालाई संस्थागत गर्दै लुम्बिनी प्रदेश सरकार, उपमहानगरपालिका र वडा कार्यालयको सहकार्यमा करिब ५० लाख रुपैयाँ लागतमा योग भवन निर्माण गरिएको छ भने थप १० लाख रुपैयाँको लागतमा खुला व्यायामशाला (ओपन जिम) पनि तयार गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
वडाध्यक्ष रिजालका अनुसार देशको परिवर्तनका लागि जीवन अर्पण गरेका युवाको सम्मानमा सालिकसहित स्मृति स्थल निर्माण गरिएको हो । उनले भने, “अहिले पहिलो चरणमा सिमेन्टको सालिक निर्माण गरिएको छ, आगामी आर्थिक वर्षमा ढलोटको सालिक बनाउने योजना छ ।”
स्वर्गीय श्रेष्ठ र थापा नेपालगन्जकै स्थायी बासिन्दा हुन्, जसले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा यसअघि नै वडा कार्यालयले ‘सहिद मार्ग’ नामकरण गरिसकेको छ ।
सालिकको अनावरण नगर प्रमुख प्रशान्त विष्ट, वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्त रूपमा गरेका हुन् । सोही अवसरमा योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्कको समेत उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले सहिदहरूको बलिदानलाई सम्झँदै जनआकाङ्क्षा अनुसार नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।
वडा अध्यक्ष रिजालले वडा नम्बर १ लाई खेलकुद र सामाजिक गतिविधिको ‘हब’ बनाउने लक्ष्यसहित काम भइरहेको पनि बताए ।