© 2026
बुटवल । सामूहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रवर्द्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ ।
साना लगानीकर्तालाई जोडेर ठुलो प्रोजेक्टहरूमा लगानी गर्ने मुख्य योजनासहित अघि बढिरहेको भिजन लुम्बिनीले बुटवलमा पत्रकार सम्मेलन गर्दै पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा सो जलविद्युत परियोजना सञ्चालन गरिने जनाएको छ ।
करिब ७० करोड लागत अनुमान रहेको सो आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र राष्ट्रिय प्रसारणमा जोड्नका लागि सम्पूर्ण तयारी पुरा भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
अध्यक्ष पोखरेलका अनुसार आयोजनामा लगानीका लागि लुम्बिनी विकास बैङ्कसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ । पोखरेलले सामूहिक लगानी नै समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए । अध्यक्ष पोखरेलले आयोजनामा लगानी गर्न बुटवलवासीलाई आग्रह पनि गरेका छन् ।
जलविद्युत परियोजनाको प्राविधिक पक्ष वातावरणीय तथा पर्यावरणीय मूल्याङ्कन लगायत प्रारम्भिक चरणको काम सकिएको छ । यसअघि भिजन लुम्बिनीको संयोजन र व्यवस्थापनमा कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
१० वर्षअघि १० करोड पुँजी सङ्कलन गरि यात्रा सुरु गरेको भिजन लुम्बिनीले अहिले १२ वटा ठुला प्रोजेक्टमा लगानी गरी काम सुरु गरेको छ । निकट भविष्यमा १ अनुपात ४ को हकप्रद शेयर निष्कासन गर्ने आवश्यक तयारी पनि गरेको छ ।
यसपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपिओमा पनि जाने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए । कुल ५१ करोड पुँजी रहेको भिजन लुम्बिनी लिमिटेडका सञ्चालक राजीव गौतमले पश्चिम नेपालको महाकाली र कर्णालीमा पनि ठुला जलविद्युत आयोजनाहरू निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए ।
सञ्चालक गौतमले साना–साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको जानकारी गराउँदै भिजन लुम्बिनीले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, फाइनान्स, हस्पिटालिटी र सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए ।
कार्यक्रममा लगानीकर्ताका तर्फबाट कुलबहादुर केसी, अनुपमान सैंजु लगायतले भिजन लुम्बिनीलाई भिजन नेपाल बनाउनुपर्ने कुरामा जोड दिँदै साना लगानीकर्तालाई आकर्षित गर्दै ठुला परियोजनाहरू सञ्चालन गरेर समग्र मुलुकलाई नै आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउन भिजन नेपाल सफल हुने विश्वास व्यक्त गरेका थिए ।