© २०२३
गुल्मी, ३० पुस ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ स्थित भार्से पछिल्लो समयमा किवी खेतीका कारण नयाँ पहिचान बनाउँदै गएको छ ।
पहिले निर्वाहमुखी कृषिमा सीमित रहेको यो गाउँ आजभोलि व्यावसायिक किवी उत्पादनका कारण जिल्लामै उदाहरणीय बनेको छ । यस पटक भार्सेमा ५० लाख बराबरको किवी उत्पादन भएको बताइएको छ ।
गाउँका बाझिएका पाखा बारीहरू किवीले लटरम्म ढाकिएका छन् । लहरामा झुन्डिएका किवीका फल र कृषकका अनुहारमा देखिने आत्मविश्वासले त्यहाँ कृषकहरूमा आर्थिक समृद्धिको यात्रा सुरु भएको सङ्केत देखिन्छ । भार्सेमा किवी खेतीको सुरुआत २०६५ सालदेखि भएको हो ।
सुरुमा केही कृषकले परीक्षणका रूपमा लगाएको किवीले राम्रो उत्पादन दिन थालेपछि आज यो खेती गाउँभर फैलिएको छ । यस वर्ष भार्सेमा व्यक्तिगत फर्म र समूहमा गरी कुल १९० क्विन्टल किवी उत्पादन भएको छ । भार्सेमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा किवीको व्यावसायिक खेती हुँदै आएको छ ।
यसबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको स्थानीय कृषक तथा वडा सदस्य यमबहादुर थापाले जानकारी दिएका छन् । उनले भने, “पहिला मकै, कोदो र भटमास मात्र हुन्थ्यो, खर्च धेरै हुन्थ्यो, आम्दानी थोरै हुन्थ्यो, अहिले किवी खेती सुरु गरेपछि घर खर्च मात्र होइन धेरै कुरामा सहज भएको छ ।”
उनले आफ्नो बारीमा १५० भन्दा बढी किवीका बोट लगाएका छन् । जसमा रेड किवी, हेवार्ड, एलिसन र ब्रुनो जातका किवी उत्पादन हुँदै आएका छन् । थापाका अनुसार एलिसन जातको किवी स्वादमा मीठो हुने हुँदा र बजारमा पनि यसको माग धेरै छ ।
भार्सेमा उत्पादित किवी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । धेरैजसो सत्यवतीको स्थानीय बजारमा खपत हुँदै आएको छ । यसको खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ । यही कारण किवी खेती यहाँका कृषकहरूको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किवीको ‘पकेट क्षेत्र’ घोषणा गरेपछि यस क्षेत्रमा थप उत्साह थपिएको छ । गाउँपालिकाले कृषकलाई प्राविधिक सहयोग, तालिम, बिरुवा वितरण, पोल व्यवस्थापन, सिँचाइ तथा बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले किवी खेतीलाई दिगो व्यवसायका रूपमा विकास गर्न आवश्यक पर्ने कुराहरूमा सहयोग पु¥याइँदै आएको बताएका छन् । गाउँपालिकाले नर्सरी व्यवस्थापन, जाम तथा वाइन बनाउने तालिम समेत प्रदान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए । यसले कृषकलाई उत्पादनसँगै व्यावसायिकता तर्फ पनि आकर्षित गरेको छ ।
हाल भार्सेमा पाँच वटा किवी समूह गठन गरी सामूहिक रूपमा किवीको उत्पादन भइरहेको छ । तीमध्ये ठुला पोखरी समूह सबैभन्दा बढी किवी उत्पादन गर्ने समूह अन्तर्गत पर्दछ । गाउँका धेरैजसो पाखा बारी अहिले किवीले ढपक्क ढाकिएका छन् ।
किवीका बोटले रोपेको तीन वर्षमै फल दिन सुरु गर्ने भएकाले पनि भार्सेका कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । वडाध्यक्ष होमबहादुर रानाका अनुसार एउटा किवीको बोटबाट ६० देखि १२० किलोसम्म फल उत्पादन हुने गर्दछ ।
किवी खेतीको अर्को फाइदा भनेको वन्यजन्तुबाट कम क्षति हुनु हो । बाँदर, बनेल तथा चराचुरुङ्गीबाट अन्य बाली जोगाउन कठिन भइरहेका बेला किवीको झुसिलो प्रकृतिका कारण ती जनावरले खासै नोक्सानी नगर्ने कृषकहरूको अनुभव छ । यही कारण किवी खेती यहाँका लागि सुरक्षित र दिगो विकल्प बन्दै गएको छ ।
गुल्मी जिल्लामा १२ सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किवी खेती गरिँदै आएको छ । सत्यवती गाउँपालिकासँगै काली गण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोट र मुसिकोट नगरपालिकामा पनि पछिल्लो समय किवीको व्यावसायिक खेतीमा विस्तार हुँदै गएको छ ।
यसले जिल्लालाई किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा चिनाउन थालेको छ । स्वास्थ्यका दृष्टिले पनि किवी अत्यन्त लाभदायी फल मानिन्छ । यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । साथै फाइबरयुक्त भएकाले पाचन प्रणालीलाई सहज बनाउँछ ।
किवीलाई जुस, सलाद, केक, जाम तथा अन्य परिकारमा प्रयोग गर्न सकिन्छ । सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त यो फलको माग बजारमा दिनानुदिन बढ्दै गएको छ ।
किवी खेतीले भार्सेका कृषकहरूको जीवनशैली मात्र परिवर्तन गरेको छैन, गाउँमै रोजगारी सिर्जना, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको बाटो पनि खोलेको छ । परदेशिने बाध्यता कम गर्न थालेको छ भने स्थानीयहरू पनि गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ कृषितर्फ फर्किन थालेका छन् ।
कुनै समय दुर्गम र पछाडि परेको गाउँका रूपमा चिनिने भार्से आज किवी खेतीका कारण सम्मृद्ध नमुना गाउँ बन्दै गएको छ । किवीसँगै धार्मिक एवं पर्यटकीय दृष्टिकोणले भार्से आफैमा सुन्दर र प्राकृतिक क्षेत्र पनि हो ।
किवीका बोटसँगै उज्यालो भविष्यको आशामा यहाँका कृषकहरूको सपना पनि साकार बन्दै जान थालेको छ ।