Butwal Today

हुलाक टिकटले दर्साउँछ राष्ट्र सन्त परमानन्द सरस्वतीको योगदान 

२९ पुष २०८२, मंगलवार
अ+
अ-

आर्यावर्त हिमवत् खण्डको पावनभूमिनेपाल, ऋषि महर्षिहरूको साधनास्थलवातपो भूमिहो ।

पौरस्त्य सभ्यताको उद्गम स्थल, यस दिव्यभूमिलाई हिमवत् प्रदेश जस्ता उपनामले पनि चिनिन्छ । विभिन्न हिमनदीद्वारा अभिसिञ्चित यो भूमि तपस्वीहरूको साधना केन्द्र हो । वैदिककालदेखि प्रसिद्धिको शिखरमा रहेका व्यास, वाल्मीकि, भरत, राजर्षि जनकादिले ब्रह्मसाधना गरी यस भू–भागलाई तीर्थ बनाएका छन् ।

नेपालको उत्तरी भाग हिमशृङ्खला दामोदर कुण्डबाट प्रवाहित शालग्राम गर्भा श्रीकृष्ण गण्डकीको पाश्र्ववर्ती क्षेत्र माता पार्वतीको प्रकाट्य भूमि, पर्वत जिल्ला, पाङ्को पश्चिम भागमा अवस्थित जगज्जननी कालिका भगवतीका मन्दिरको समीपस्थ वर्तमान संरचना अनुसार बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पुष्पलाल लोकमार्ग बागलुङ–वुर्तिवाङ् खण्ड अन्तर्गत रहेको काठेखोला गा.पा.–६ (साबिकबिहुँकोट गा.वि.स–३) मापौवा डाँडा भन्ने स्थान छ ।

जहाँ अहिले श्रीपरमेश्वर राममन्दिर रहेको छ । यसै ठाउँमा तत्कालीन गल्कोटे राजाका राजगुरु ज्यो. पं. महादेव कँडेलका नौ भाइ छोराहरूमध्ये कान्छा ब्रह्मदेव (ब्रह्मबाजे) का वंश परम्परामा सद्गृहस्थ पिताश्री टीकाराम र माताश्री अदितिका गर्भबाट वि.सं. १९९४ आश्विन १८ गते रविवार, अमावास्या तिथिको गोधुली साँझ ५.३० बजे आध्यात्मिक विभूति, सन्तशिरोमणि, राष्ट्र सन्त स्वामी श्री परमानन्द सरस्वती गुरु महाराजको आविर्भाव भएको थियो ।

१७ वर्षकै उमेरबाट भजन–कीर्तन तथा स्वाध्यायमार्फत् आध्यात्मिक–साधनातर्फ प्रभावित हुँदै गुरुको खोजीमा रहनुभएका स्वामीज्यूलाई ब्रह्मज्ञानी छवि प्रकाशानन्द गुरु महाराजको भेटबाट जीवनमा नयाँ आयाम थपियो । भरजीवन आबाल ब्रह्मचारी रहेर म्याग्दी जिल्लाको मुसुङ्–धुरी, गुल्मी जिल्लाका दिब्रुङ–शिखर र सालिमेदह, बागलुङ जिल्लाका झुलेनी, शिवधुरीजस्ता देशका विभिन्न कुना–कन्दराहरूमा तपस्या गरी प्राप्त गरेको आध्यात्मिक शक्ति तथा सनातन वैदिक–धर्म संस्कृतिका माध्यमबाट समाजलाई आलोकित पार्नुपर्छ भन्ने ध्येय राखी वि.सं. २०२४ मा दिब्रुङ, धर्मद्वारीमा प्रथम आश्रम श्रीलोकेश्वर महादेव मन्दिरको स्थापनाबाट स्वामी परमानन्द गुरुज्यूको धार्मिक–सामाजिक यात्रा शुभारम्भ भयो ।

सनातन वैदिक परम्पराका माध्यमबाट आदर्श जीवनयापन गर्न संस्कृत वाङ्मयमा रहेको आध्यात्मिक ज्ञान राशिको महत्त्वपूर्ण भूमिका रहन्छ । विश्व समुदायले वेदवेदाङ्गलाई उच्च सम्मान गरेको छ । ऋषिमुनिहरूको शैक्षिक पद्धति नै गुरुकुलीय पद्धति हो । नेपालको मौलिक शिक्षा भनेकै गुरुकुलीय शिक्षा प्रणाली हो । यस पद्धतिको ऊर्वरभूमि यसै शालग्राम क्षेत्रलाई मानिएको छ ।

व्यास, वाल्मीकि, पाणिनि आदि ऋषि–महर्षिहरूले संस्कृत वाङ्मयको साधना गरेका हाम्रा यि नै गिरि–कन्दराहरू हुन् । वेदवेदाङ्गको अध्ययनबाट मात्र सनातन वैदिक धर्म–अनुयायीहरू तथा ॐ कार परिवारका सबै व्यक्तिहरूको धार्मिक मूल्य– मान्यतालाई संरक्षण–संवद्र्धन गर्दै सभ्य समाज र सुसंस्कृत परिवार निर्माणमा सहयोग पुग्छ भन्ने अभिप्रायले वि.सं. २०२८ भाद्र ६ गते दिब्रुङ, धर्मद्वारीमा अर्घाखाँची जिल्ला, सुवर्णखाल निवासी आचार्य पं. श्री सिद्धिनाथ पाण्डेयको आचार्यत्वमा स्थापना भएको श्रीपरमानन्द–संस्कृत–गुरुकुलम् हाल तनहुँ जिल्ला, आदिप्रयाग, देवघाट धामस्थित श्रीहरिहर सन्न्यास आश्रम अन्तर्गत कक्षा ६ देखि आचार्य÷स्नाकोत्तर (एम.ए.) तहसम्म अध्ययन गर्ने विशाल संस्कृत शिक्षण अध्ययन केन्द्रका रूपमा सञ्चालनमा रहेको छ ।

निःशुल्क अध्ययन, भोजन, आवासको व्यवस्था रहेको यस शिक्षण संस्थामा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष तथा यस संस्थाका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको कुशल नेतृत्व र व्यवस्थापनबाट विद्यापीठ तथा आश्रमका नियमित गतिविधि समायानुकूल सम्पन्न भइरहेका छन् ।

विभिन्न जिल्लामा देवालय, शिक्षालयादिको स्थापना गरी राष्ट्रसेवाका लागि उल्लेख्य योगदान दिनुभएका तथा आदिप्रयाग, देवघाटधामस्थित श्रीहरिहर सन्न्यास आश्रम र श्रीपरमानन्द संस्कृत गुरुकुलका संस्थापक श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजज्यू वि.सं. २०५३ माघ १८ गतेका दिन राष्ट्रदेव भगवान श्रीपशुपति नाथको सन्निधिमा ब्रह्मलीन (तिरोभाव) हुनुभयो ।

तत्कालीन महाराजाधिराज श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवबाट सुप्रबल गोरखा दक्षिणबाहुको मान–पदवीबाट जीवित अवस्थामैँ सम्मान हुनुभएका माहाल नेपाल सरकारले उहाँलाई हुलाक टिकटका माध्यमले सम्मान गरेको छ । जसको सारांशकथा यस्तो रहेको छ ।

नेपाल सरकारको निजामति सेवामा अधिकृतस्तरमा कार्यरत विष्णुदेवी गैरेको समन्वयात्मक तत्परता, श्रीत्रिपुरेश्वर महादेव मन्दिर, परमानन्द सन्न्यास आश्रम, रामकोट धाम व्यवस्थापन समितिको निवेदन–प्रस्ताव, काठेखोला गा.पा., वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेल, काठेखोला गा.पा.का अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा समेतका जनप्रतिनिधिहरू, प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की समेतका कर्मचारीहरूको सदासयतामा १२ औं गाउँपालिका सभाको निर्णय अनुसार वि.सं. २०८१।०३।२३ मा हुलाक सेवा विभागमा प्रस्ताव दर्ता भएको थियो ।

यहाँ सारांशमा भन्नुपर्दा आध्यात्मिक विभूति, सन्तशिरोमणि, राष्ट्र सन्त स्वामी श्री परमानन्द सरस्वती महाराजको तस्वीर अङ्कित टिकट छपाइ प्रकाशन गर्न उपयुक्त हुने रायसहित स्वीकृतिका लागि मिति वि.सं. २०८१।१०।१८ मै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमक्ष पेश गरिएको थियो ।

हुलाक सेवा विभागबाट प्राप्त प्रस्तावमा सघन छलफल एवम् अध्ययन पश्चात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रशासन तथा विकास सहायता समन्वय शाखाका अधिकृत दिनेश खनाल, उपसचिव कृष्णप्रसाद शर्मा सुवेदी साथै योजना महाशाखा प्रमुख सहसचिव कोशहरि निरौलाको हुलाक सेवा विभागबाट पेश भए बमोजिमका हुलाक टिकट प्रकाशन गर्न उपयुक्त हुने रायसहित श्रीमान् सञ्चार सचिव राधिका अर्यालज्यूले माननीय मन्त्री श्री पृथ्वीसुब्बा गुरुङसमक्ष पेश गर्नुभएकोमा २०८१।१०।२३ मा मन्त्रीस्तरीय निर्णयबाट टिकट छपाइ तथा प्रकाशन कार्य स्वीकृत भएको थियो ।

छापिएका टिकटलाई आधिकारिकता प्रदानका लागि मिति २०८२।०२।२१ मा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्न तोकिएको कार्यक्रम अनुसार हुलाक सेवा विभागका महानिर्देशकज्यूको अध्यक्षता, माननीय सञ्चार मन्त्रीज्यूको प्रमुख आतिथ्य र श्रीमान् सञ्चार सचिवज्यूको विशिष्ट आतिथ्यमा राष्ट्रिय तथा निजी सञ्चार माध्यमको व्यापक उपस्थिति, प्रस्तावकका प्रतिनिधिका रूपमा श्रीहरिहर–सन्न्यास–आश्रम, धापासी, टोखा न.पा.–६ का व्यवस्थापक धर्म चापागाईँ र नारायण ढकालसमेतको उपस्थितिमा माननीय मन्त्रीद्वारा टिकटमा टाँचा लगाएर आधिकारिकता प्रदान गर्नुभयो ।

राष्ट्र सन्त गुरु महाराजले शिक्षा र अध्यात्मका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको योगदानकाप्रति राज्यका तर्फबाट उच्च सम्मान प्रकट गर्दै स्वामीज्यूको जीवन–वृत्तान्त समेटेर नेपाली/अंग्रेजी भाषामा तयार पारिएको विस्तृत लेखको शाखा अधिकृत चन्द्र थापाले वाचन गरी कार्यक्रममा स्वामीज्यूप्रति कृतज्ञता व्यक्त गरियो ।

रु. १० दरका पाँचलाख (०.५ मिलियन) टिकट प्रकाशन गरी राज्यतर्फबाट स्वामीज्यू ब्रह्मलीन भएको (मरणोपरान्त) २९ वर्ष पछि उहाँप्रति सम्मान ब्यक्त गरिएको छ । छापिएका केही टिकट सम्बन्धित संस्थाले खरिद गर्नुपर्ने प्रावधान भए बमोजिम संस्थाको तर्फबाट श्रीपरमानन्द–वेदवेदाङ्ग–विद्यालय, रामकोटधाम, बिहुँकोटका पूर्वछात्र, पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् काठेखोला गा.पा.–६, (साबिकबिहुँकोट गा.वि.स.–१) ताराखसे हाल भरतपुर म.न.पा.–९, शरदपुर घर भई अमेरिकाको डालस शहरमा बसोबास गरी सनातन वैदिक धर्म–संस्कृतिको प्रचार–प्रसार गरिरहनु भएका तथा हालै वि.सं. २०८२।६।१८ गते गुरुमहाराजको ८८ औं प्राकट्य दिवसमा लोकार्पित श्रीपरमानन्द–गुरुचरितामृत नामक ग्रन्थका रचनाकार, आचार्य पं.श्री तुलसीराम शर्मा कँडेलबाट भएको आर्थिक सहयोग सराहनीय छ ।

आध्यात्मिक विभूति, सन्त शिरोमणि, राष्ट्र सन्त ब्रह्मलीन गुरु महाराज, परमानन्द सरस्वतीले वैदिक–धर्म संस्कृति, संस्कृत शिक्षाका माध्यमद्वारा राष्ट्र–विकासार्थ समाजमा गर्नुभएको अतुलनीय योगदानको मुक्तकण्ठले जति प्रशंसा गरे पनि अपूर्ण हुन्छ ।

अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भीष्म कँडेलको संयोजनमा गुरुज्यूको अति संक्षिप्त जीवनी स्थानीय पाठ्यक्रममा समावेश गर्ने सदाशयता बमोजिम सोही विद्यालयका पूर्व प्र.अ. तथा यस आलेखका लेखक हरिप्रसाद कँडेलको लेखन र होमनाथ गौतमको सम्पादनमा जीवनी तयार भई पठन–पाठनमा ल्याइने भएको व्यहोरा सहर्ष जानकारी गराउँदै अब भने राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले योगदान अनुकूल गुरुज्यूको जीवनी प्रकाशन गर्ने आधार तयार गरोस् भन्ने उहाँका परमार्थमय सेवाबाट उपकृत क्षेत्रका सम्बद्ध नागरिकको जनचाहना रहेको छ ।

जनचाहनाको कदर गर्दै सम्बन्धित निकायबाट आवश्यक पहल–कदमी अघि बढ्ने कुरामा पूर्ण विश्वस्त हुँदै यस पवित्र कार्यमा प्रत्यक्ष–परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई परमानन्दीय सन्न्यास परम्पराका सम्पूर्ण भक्त समुदायबाट हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापनपूर्वक आलेखलाई यही पूर्णता प्रदान गर्दछु । यसअघि राष्ट्रसन्तका बारेमा लेख प्रकाशन गरिरहने बुटवल टुडेप्रति पनि हार्दिक आभार । अस्तु, जय गुरुदेव !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?