© 2026
काठमाडौँ, २४ पुस ।
गत भदौ २३ र २४ गते भएको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
आन्दोलनका कारण भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय समितिले सो लागत लाग्ने प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनअनुसार पुनर्निर्माण कार्ययोजना अन्तर्गत सार्वजनिक क्षेत्रमा क्षति पुगेका भवनको पुनर्निर्माण तथा मर्मत, सवारी साधन र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
यसअन्तर्गत क्षति भएका भवनको पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ, सवारी साधनको खरिद तथा मर्मततर्फ ६ अर्ब १६ करोड ८० लाख रुपैयाँ र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।
समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर हो ।
कुल क्षतिमध्ये सरकारी तथा सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको छ । कुल क्षतिमध्ये यस प्रदेशको हिस्सा ६६.५ प्रतिशत रहेको छ । रकमका आधारमा कोशी प्रदेशमा १० अर्ब २४ करोड, मधेश प्रदेशमा ४ अर्ब ९२ करोड, बागमती प्रदेशमा ५६ अर्ब २३ करोड, गण्डकी प्रदेशमा ४ अर्ब १ करोड, लुम्बिनी प्रदेशमा ५ अर्ब ९९ करोड, कर्णाली प्रदेशमा ६२ करोड र सुदूरपश्चिम प्रदेशमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिवेदनमा आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको उल्लेख छ । साथै रोजगारी क्षेत्रमा २ हजार ९ सय ९९ जनामा प्रत्यक्ष प्रभाव परेको देखिएको छ, जसमध्ये २ हजार ३ सय ५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन् ।
आन्दोलनका क्रममा कुल २ हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन् । भवनतर्फ ३९ अर्ब ३१ करोड ७५ लाख, सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र अन्य अस्थायी तथा निजी सम्पत्तिमा ९ अर्ब २ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
प्रतिवेदनमा आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विवरण पनि समेटिएको छ । आन्दोलनमा ७७ जनाको मृत्यु भएको थियो । मृतकमध्ये ७३ जना पुरुष र ४ जना महिला रहेका छन् । ज्यान गुमाउनेमध्ये १३ देखि २८ वर्ष उमेर समूहका ३९ जना रहेका छन् ।