© २०२३
भैरहवा, २४ पुस ।
सुजुकी गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता पाठक मोटर्स ग्रुपले अहिलेसम्मकै अत्याधुनिक विशेषतासहितको नयाँ एसयूभी ‘भिक्टोरिस’ बजारमा सार्वजनिक गरेको छ ।
भविष्यमुखी डिजाइन, विलासी बनावट र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजनका रूपमा भिक्टोरिसलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
भिक्टोरिसमा ३६० डिग्री भ्यू क्यामेरा उपलब्ध छ, जसले ११ वटा फरक–फरक दृश्यहरू देखाउने हाई–डेफिनिसन क्यामेरामार्फत सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ ।
साथै, टायर प्रेसर मोनिटरिङ सिस्टमले गाडीको टायरको अवस्था निरन्तर जानकारी दिने यसका डिलर ईन्चार्ज आदर्श भण्डारीले जानकारी दिए । सुरक्षाका हिसाबले यो एसयूभीलाई अझ मजबुत बनाइएको छ ।
यसमा अल–ह्विल डिस्क ब्रेक, ब्रेक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ । स्मार्ट पार्किङका लागि फ्रन्ट र रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यू क्यामेरा पनि दिइएको उनले बताए ।
सबै प्यासेन्जर भेहिकल सेग्मेन्टमा उच्च स्तरको सुरक्षा उपलब्ध गराउने सुजुकीको प्रतिबद्धताअनुसार भिक्टोरिसमा एरिना सेफ्टी सिल्ड समावेश गरिएको छ । यस अन्तर्गत स्ट्रोङ हाइब्रिड इन्जिन र ईभी मोड उपलब्ध छन्, जसले उत्कृष्ट माइलेजसँगै सशक्त पर्फर्मेन्स प्रदान गर्छ । कठिन सडक र अफ–रोड यात्राका लागि अटो, स्नो र लक मोडसहितको फोर–ह्विल ड्राइभ प्रणाली पनि उपलब्ध छ ।
डिजाइनतर्फ, भिक्टोरिसमा आकर्षक एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प तथा एरो कट अलोय ह्विल्स दिइएको छ । भित्री सजावट ब्ल्याक र आइभोरी ड्यूल–टोनमा तयार गरिएको छ भने ठुलो प्यानोरामिक सनरुफ ले क्याबिनलाई अझ फराकिलो र प्रिमियम बनाएको भण्डारीको भनाई छ ।
पाठक मोटर्सका निर्देशक बाबुराम पाठकले भिक्टोरिसलाई आधुनिक प्रविधि, उच्च सुरक्षा र आरामदायी यात्राको चाहना राख्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रुपमा प्रस्तुत गरेको जनाए । उनले विभिन्न सेगमेन्टमा यो कार रहेको बताए ।
तत्काल बुक गर्नेलाई भने ५० लाख ९९ हजार रुपैयाँमा कार उपलब्ध गराउने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले अहिलेको प्रतिस्पर्धी बजारमा पनि सुजुकीको बजार यथावत् रहेको बताउँदै भैरहवामा यसलाई कायम राख्न पाठक मोटर्स सफल भएको बताए ।
कार्यक्रममा सिजी मोटरकर्पका अजय तिमिल्सिना, पाठक मोटर्स ग्रुपको प्रबन्धक सृजना थैव, एनएमबी बैङ्क बुटवल शाखामा व्यवस्थापक अमृत थापा लगायतको उपस्थिति थियो ।