© 2026
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगलाई आफ्नो जवाफ पठाएका छन् । आयोगले एक साता अघि राष्ट्रपति पौडेलसँग सो घटनासम्बन्धी विवरण र ‘भदौ २४ गते के भयो र त्यतिवेला तपाईं कहाँ हुनुहुन्थ्यो’ जस्ता प्रश्नहरू सोधेर जानकारी मागेको थियो ।
राष्ट्रपति पौडेलका अनुसार भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी र तोडफोड गरेका थिए । नेपाली सेनाले उनलाई कार्यालयमै जोगाउन नसकेपछि पौडेललाई भैरवनाथ गणमा लगिएको थियो ।
सेनाको सुरक्षा अन्तर्गत रहेर राष्ट्रपति पछि सरकार गठन प्रक्रियामा सक्रिय भएका थिए । राष्ट्रपति कार्यालयबाट तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई भदौ २७ गते नियुक्त गरिएको थियो । सोही दिन प्रतिनिधि सभा पनि विघटन गरिएको थियो ।
सरकार बनेको दोस्रो साता असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तोकिएको स्थानमा बोलाएर बयान लिएको थियो भने अन्य प्रमुख व्यक्तिहरूलाई लिखित जवाफ मागेको थियो ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई पनि जवाफ मागिएको थियो । घिमिरेले जवाफ बुझाइसकेका छन् भने दाहालले पठाउन बाँकी छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जवाफ दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले लिखित जवाफ दिएका थिए । गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल आयोगमा गएर बयान दिएका थिए ।
लेखक र ओलीसहितका व्यक्तिहरूको बयानपछि आयोगले तोकेको स्थानहद फुकुवा गरिसकेको छ ।