© 2026
काठमाडौँ ।
ऊर्जा, भौतिक तथा सहरी विकाससहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।
उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित गर्दा उपाध्यक्ष बनेका घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने गरी तयारी गरिरहेको बताइएको छ ।
कुलमान घिसिङका दाइ गणेश घिसिङले उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारीमा रहेको जानकारी दिए । “काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने लगभग निश्चित जस्तै छ,” उनले भने ।
जेन–जी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन भएको उक्त पार्टी पुसको दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपासँग समाहित भएको थियो ।
नागरिक सरकारका मन्त्री रहेका कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय भएको भन्दै आलोचना पनि भइरहेको छ । दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्न चाहने मन्त्रीहरूले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन् ।