© २०२३
नेपालगञ्ज। बाँकेको राप्ती सोनारी १ सौंरीमा तीन दिन अघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि निकुञ्जले सो क्षेत्रमा निगरानी बढाएको छ।
घटनापछि निकुञ्जले बाघको गतिविधि पहिचान गर्न सो क्षेत्रमा चारवटा सीसीटिभी क्यामरा जडान गरी खोजी तथा निगरानी कार्य तीव्र पारेको हो।
“मृतकको शवको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको अनुमान गरिएको छ,” निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले भने, “उक्त क्षेत्र बाघको नियमित वासस्थान भएकाले प्राविधिक टोली निरन्तर खटिएको छ र बाघ नियन्त्रणमा लिने प्रयास भइरहेको छ।”
बाघ आक्रमणको घटनाले राप्ती सोनारीको कुसुम क्षेत्र अहिले शोकमा छ। तीन महिनाको छोटो अन्तरमै पाटेबाघको आक्रमणबाट दुई जना स्थानीयको ज्यान गएपछि मध्यवर्ती क्षेत्रका बासिन्दा भय र असुरक्षाको त्रासमा बाँच्न बाध्य भएका छन्।
गत कात्तिक ८ गते राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्री बाघको आक्रमणमा परेर ज्यान गुमाएका थिए।
त्यसको पीडा सेलाउन नपाउँदै पुस १९ गते राप्ती सोनारी गाउँपालिका–१ कुसुमका ६२ वर्षीय मरिचमान भण्डारीको पनि बाघकै आक्रमणबाट मृत्यु भएको छ।
भण्डारी सौरी सामुदायिक वन मध्यवर्ती क्षेत्रअन्तर्गत देसीमारे चौरमा गाई चराउन गएका बेला बाघको आक्रमणमा परेका थिए।
उनीसँगै अन्य तीन जना पनि जंगल गएका थिए। बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पंगेनीका अनुसार मृतकको घाँटी र टाउकोमा गम्भीर चोट देखिएको छ भने शरीरका अन्य भागमा खासै चोट नदेखिएको अवस्था छ। घटनास्थलबाट करिब ५० मिटर टाढा एउटा गाई पनि मारिएको अवस्थामा फेला परेको उनले जानकारी दिए।
यसअघि पनि ढकेरी क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो। त्यसबेला जडान गरिएका सीसीटिभी क्यामरामा बाघ एकपटक मात्र देखिएको भए पनि अहिलेसम्म मान्छे खाने बाघ नै हो भन्ने विषयमा पूर्ण यकिन हुन नसकेको निकुञ्जले जनाएको छ। यद्यपि, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै पीडित परिवारलाई राहत दिने प्रक्रिया अघि बढाइने र स्थानीयलाई थप सचेत बनाइने निकुञ्जको भनाइ छ।
राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले मध्यवर्ती क्षेत्रका नागरिकहरू गम्भीर असुरक्षामा रहेको बताए। “हरेक वर्ष वन्यजन्तुका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ,”–उनले भने, “निकुञ्ज ऐनका कारण यहाँका बासिन्दाले थप कठिनाइ भोगिरहेका छन्।”
वडाध्यक्ष खड्काका अनुसार वडा कार्यालयले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि नागरिकहरू आफैं आफ्नो ज्यान जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ। स्थानीयको सुरक्षा र जीवन रक्षा सुनिश्चित गर्नका लागि विद्यमान ऐन तथा नीतिमा संशोधन आवश्यक रहेकोमा वडाध्यक्षले जोड दिएका छन्।