Butwal Today

कांग्रेसले अन्य दलसँग तालमेलका लागि ८ सिट माग्यो

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाको निर्वाचनमा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलसँग ८ सिट मागेको छ ।

१८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिटको दाबी गरेको हो । तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन् ।

खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेलका लागि आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको बताइन् ।

कार्यवाहक सभापति खड्काले बैठकमा गरेको ब्रिफिङबारे कोइरालाले सञ्चारकर्मीहरूसँग भनिन्, ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ । कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ ।’

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच तालमेलका लागि कुराकानी भइरहेको छ । कांग्रेसबाट खड्का र नेता रमेश लेखकले अन्य दलसँग छलफल गरिरहेका छन् ।

दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय अझै टुङ्गिएको छैन ।