Butwal Today

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न सकारात्मक देखिए

२१ पुष २०८२, सोमबार
अ+
अ-

 काठमाडौँ, २१ पुस ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट निर्वाचन लड्न जिल्ला नेताहरूले अनुरोध गरेका छन् । उक्त अनुरोधप्रति प्रचण्ड सकारात्मक देखिएको नेताहरूले बताएका छन् ।

चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाडौँ आएको हो । टोलीले ललितपुरस्थित एक क्याफेमा दुई दिनसम्म प्रचण्डसँग छलफल गरेको थियो ।

छलफल सकारात्मक रहेको रुकुम पूर्वकी जिल्ला संयोजक कुमारी बराल (गौतम) ले बताइन् । “हाम्रो अनुरोध रुकुम पूर्वबाट चुनाव लड्नुस् भन्ने हो, त्यस विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ,” बरालले अनलाइनखबरसँग भनिन् ।

रुकुम पूर्वबाट काठमाडौँ आएका जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतीक), संयोजक बराल, पूर्ण घर्ती, दलजित शेर्पाली, होमप्रकाश श्रेष्ठ (हिमाल) लगायत नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए । छलफलमा रुकुम पूर्वकै नेतासँगै पार्टी केन्द्रीय कार्यालयका सचिव गणेशमान पुन, केन्द्रीय सदस्य सुवोधराज शेर्पाली, सरल सहयात्री, केशव रावल लगायत नेताहरू पनि सहभागी थिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ तेजबहादुर ओली, गणेशमान पुन, दलजित शेर्पाली, जितमान पुन, सुवोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरिएको थियो ।

समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित) सिफारिस भएका छन् ।

तत्कालीन माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको रुकुम पूर्वलाई आधार इलाकाका रूपमा लिने गरिएको छ । अहिलेसम्म पनि माओवादीको पकड बलियो मानिने भएकाले रुकुम पूर्व प्रचण्डका लागि सुरक्षित निर्वाचन क्षेत्र हुने आकलन गरिएको छ ।

“जनयुद्धका सुप्रिमो प्रचण्डलाई रुकुम पूर्वजस्तो सुरक्षित क्षेत्र अर्को देखेका छैनौँ,” छलफलमा सहभागी एक नेताले भने ।

छलफलमा सहभागी अर्का एक नेताका अनुसार प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न करिब ९० प्रतिशत सकारात्मक देखिएका छन् । “करिब ९० प्रतिशत कुरा मिलिसकेको छ । जिल्लाका वर्तमान नेताहरूले आफ्नो व्यवस्थापनको ग्यारेन्टीसमेत खोजेका छन् । त्यो विषय टुंगिएपछि प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने निश्चित हुन्छ,” उनले भने ।

प्रचण्डले भने अझै समय बाँकी रहेकाले छलफललाई निरन्तरता दिने बताएका छन् ।

यस विषयमा प्रचण्ड दिल्लीबाट फर्किएपछि पुनः छलफल गर्ने तयारी गरिएको छ । पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार दिल्ली गएका प्रचण्ड सोमबार साँझ फर्किने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।

यता, नेता गणेशमान पुनले भने प्रचण्ड प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबारे छलफल जारी रहेको बताएका छन् । रुकुम पूर्वको विषयमा पनि छलफल भएको तर टुंगो नलागेको उनले स्पष्ट पारे ।

“सोलुदेखि कालिकोटसम्मका साथीहरूले हाम्रो क्षेत्रबाट चुनाव लडिदिनुपर्‍यो भनेर अनुरोध गर्नुभएको छ । विभिन्न निर्वाचन क्षेत्रमा एकल सिफारिस पनि भएका छन्,” पुनले भने, “त्यसबारे छलफल भइरहेको छ, अहिलेसम्म टुंगो लागेको छैन ।”