Butwal Today

जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

२१ पुष २०८२, सोमबार
अ+
अ-

बुटवल। बुटवलमा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण र उपचारको उदेश्य सहित बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालित छ।

२०८० माघमा बुटवल १२ की ११० वर्षीय ऐरावती बरइको स्वास्थ्य परीक्षण गरी शुरु भएको बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षमा समेत निरन्तर छ।

ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन तय गरेका योजनाहरु कार्यान्वयन गरिएको हो।

चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले बताए।

उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउने कार्यक्रम नियमित सञ्चालन गर्ने बताए।

‘हामीले कानुन नै बनाएर वर्षमा २ पटक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने र उपचारका लागि लाग्ने सबै ल्याब परीक्षण र औषधि निशुल्क उपलब्ध गराउने गरी काम गरिरहेका छौं,-उनले भने-‘यसमा निजी क्षेत्रलाई समेत सहभागी बनाएर विशेषज्ञ चिकित्सक र आवश्यक ल्याब परीक्षण गराइरहेका छौं, आवश्यक औषधिहरु बुटवल उपमहानगरपालिका आफैले खरिद गरेर उपलब्ध गराएको छ।’

उनले घरदैलोमा गरेको परीक्षणबाट थप उपचार गर्न आवश्यक परेमा तोकिएका अस्पतालहरुमा निशुल्क उपचार हुने गरी व्यवस्था मिलाउने बताए।

उनका अनुसार बुटवलले विपन्न र संवेदनशील समुदाय केन्द्रित जनस्वास्थ्य नीति लागू गर्दै निःशुल्क रक्त सेवा, मातृत्व सहायता, सुरक्षित प्रसूति प्रवर्धन, एचआइभी संक्रमित बालबालिकालाई पोषण भत्ता र वृद्ध स्वास्थ्य जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरेको छ।

क्षयरोग नियन्त्रण, सुरक्षित गर्भपतन सेवा, गर्भवतीको भिडियो एक्सरे र निःशुल्क प्रयोगशाला सेवामार्फत् नगरले आधुनिक र समावेशी स्वास्थ्य प्रणालीको उदाहरण दिएको छ।

उप–महानगरपालिकाले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, समावेशी पहुँच, र नागरिकको स्वास्थ्य सेवामा दिगोपन सुनिश्चित गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले दाबी छ।

स्वास्थ्यमा समग्र सुधारमार्फत् बुटवललाई उदाहरणीय नगरपालिका बनाउने लक्ष्य राखेको उप–महानगरको दाबी छ। यसले नगरवासीलाई गुणस्तरीय सेवा र अवसर उपलब्ध गराउने अपेक्षा उप–महानगरको रहेको छ।

‘टीबी अन्त्य २०३५’ लक्ष्यमा सहकार्य गर्दै पालिकाले निःशुल्क परीक्षण, पोषण सहयोग र जनचेतनामूलक अभियान चलाइरहेको छ।

स्वास्थ्य संस्था नियमन, गुणस्तर सुधार र स्वास्थ्यकर्मीको नियमित सेवा व्यवस्थापनले स्वास्थ्य सूचकांकमा सुधार ल्याएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे बताउँछन्। उनका अनुसार स्वास्थ्य सेवा सुधार र घरदैलोमा सेवा पुर्‍याउनका लागि नगरले निजी क्षेत्रलाई समेत सँगसँगै अगाडि बढाएको बताए।

उनका अनुसार प्रत्येक वडाहरुमा सञ्चालन भएको बाआमासँग नगर प्रमुख कार्यक्रमको पहिलो चरणमा वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुमा शिविर सञ्चालन गरिएको छ भने शिविरपश्चात् असहाय र अशक्तहरुका लागि घरघरमै सेवा पुर्‍याइनेछ।