Butwal Today

पर्सा प्रशासनको चेतावनी: सामाजिक सद्भावमा खलल ल्याउनेलाई कारबाही

२० पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असर पर्साको वीरगञ्जमा पनि देखिएको छ । टिकटकमा एकअर्काको धर्म र संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा तनाव उत्पन्न भएको हो ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ६, सखुवा मरानमा रहेको मस्जिदमा तोडफोड भएपछि आज बिहानैदेखि वीरगञ्ज र आसपासका क्षेत्रमा प्रदर्शन भएको छ । वीरगञ्जको छपकैया इदगाह चोकमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सात जना प्रहरी सामान्य घाइते भएका छन् ।

टिकटकमा भिडियो राख्ने र तोडफोडमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम राख्न सबैसँग आह्वान गरेको छ ।