© २०२३
भैरहवा, १९ पुस ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३, गौशालामा रहेको रामजानकी गौशाला यति बेला बेवारिसे र रोगी चौपायाहरूको शरण स्थल नभएर मृत्यु गृह बन्दै गएको छ ।
दैनिक जसो गाई र गोरुहरूको मृत्यु भइरहेको घटनाले गौशालाको व्यवस्थापनमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ, जसको प्रत्यक्ष असर निरीह पशुहरू र गौशाला नजिकैका स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा पर्न थालेको छ ।
सियारी गाउँपालिकामा छाडा चौपायाहरूको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले २०७९ सालमा “रामजानकी गौशाला सञ्चालन कार्यविधि २०७९” अनुसार वडा नम्बर ३ मा गौशाला सञ्चालन गरेको छ ।
गौशालाका व्यवस्थापन समितिका अध्यक्ष वडा नम्बर ३ का वडाध्यक्ष रामचन्द्र कुर्मीका छोरा प्रेमकुमार कुर्मी रहेका छन् । व्यवस्थापन समितिले वार्षिक रूपमा प्रति बिगाहा २५ हजार रुपियाँका दरले रामजानकी मन्दिरको एक बिगाहा १३ कट्ठा जग्गा भाडामा लिई गौशाला सञ्चालन गरिरहेको छ ।
गौशालामा पशुहरूको लागि आवश्यक केही पूर्वाधार खडा गरिएका छन् । केही भागलाई पालले बेरिएको छ । भुसा गोदाम, दुई जना कर्मचारी सहित गौशालाको व्यवस्थापन गरिएको छ ।
गौशालामा समाचार तयार पार्दा सम्म साना ठूला गरी ५६ वटा चौपायाहरू रहेका छन् । यी मध्ये २ वटा गाई र १ वटा सानो बाच्छोको अवस्था गम्भीर थियो । उनीहरू अलग–अलग ठाउँमा लडिरहेका थिए ।
“रामजानकी गौशाला सञ्चालन कार्यविधि २०७९” को बुँदा नम्बर च र छ मा पशु आहाराको व्यवस्थापन गर्न भनिएको छ । बुँदा नम्बर च मा “पशु आहाराको लागि आवश्यक घाँस लगाई उपभोगको व्यवस्था मिलाउनु पर्नेछ” भनी उल्लेख रहेको छ भने बुँदा नम्बर छ मा “गौशालामा चरन नभएको नपुग हुने अवस्था र चरन नहुने मौसमका लागि सुख्खा तथा हरियो घाँस खरिद गर्नुपर्ने भए सो व्यवस्था मिलाउने” उल्लेख रहेको छ ।

तर गौशालामा पशुहरूलाई सुख्खा भुसा मात्र खानको लागि राखिएको थियो । यसले कार्यविधिमा गरिएको व्यवस्थालाई लत्त्याउँदै व्यवस्थापन समितिले पर्याप्त र पोसिलो खानेकुराकै अभावमा गौशालामा रहेका गाई तथा गोरुहरू मर्न दिएको भन्दै स्थानीयहरूमा रोष देखिएको छ ।
राष्ट्रिय जनावरको रूपमा रहेका गाईहरू दैनिक जसो मर्ने गरेको आरोप लगाउँदै सीतापुर टोल सुधार समितिका अध्यक्ष दिपेन्द्र कुमार केवटले गौशालाको नाममा व्यवस्थापन समितिले पाप गरिरहेको बताउँछन् ।
“पवित्र रामजानकी मन्दिरको नाममा गौशाला खोलिएको छ तर काम अपवित्र भइरहेको छ । हरियो घाँसपात नभई पराल मात्र दिँदा गाईहरू दैनिक मर्ने नै भए”–केवटले भने गौशालाका गाई–गोरुहरूलाई पर्याप्त चारा उपलब्ध नगराइएको स्थानीय बासिन्दाहरूको आरोप छ । स्थानीय केशव मिश्र लगायतले व्यवस्थापन समितिमाथि चारा घोटालाको आरोप लगाएका छन्, जसका कारण भोक र कुपोषणले गर्दा अबुझ चौपायाहरू मर्न बाध्य छन् ।
अर्को समस्या भनेको मरेको चौपायाहरूलाई गाउँ नजिकै व्यवस्थापन गर्नु । मृत्युपछि गाई–गोरुहरूको व्यवस्थापन समितिले मृत पशुहरूलाई गाउँ नजिकै जथाभाबी गाड्ने गरेको स्थानीयहरूको गुनासो छ ।
पशुहरूका शवलाई उचित विधि (जस्तै: गहिरो खाडलमा चुन प्रयोग गरेर गाड्ने वा उचित दूरीमा व्यवस्थापन गर्ने) बिना नै गाउँ नजिकै गाड्दा ती सडेर निस्कने दुर्गन्ध र रोगका जीवाणुहरूका कारण सिङ्गो गाउँले समाज नै ठुलो स्वास्थ्य जोखिम मा परेको छ ।
स्थानीय अगुवा समेत रहेका मिश्राले चौपायाहरूको कारण सम्पूर्ण गाउँ नै हैजाको जोखिममा रहेको दाबी गरे । “लहरै तथा कम गहिराइमा मरेका गाई गोरुहरू गाडिएका छन्, थोरै घाम लाग्ने बित्तिकै सम्पूर्ण क्षेत्रमै हैजा फैलिने त्रासमा छौँ”, मिश्राले भने “यो मशानघाट हैन, यहाँ व्यवस्थापन नगर्नुहोस् भन्दा पनि कहीँ कतै सुनुवाइ भएको छैन ।”
उनले यसले भूमिगत जल, माटो र वायुमा समेत प्रदूषण फैलाएको छ, जसको दीर्घकालीन असर भयावह हुन सक्ने बताए ।
यता, गौशाला व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार कुर्मी भने आफूहरूको बचाउ गर्दै पशुहरूको खुराकमा कुनै कमी हुन नदिएको दाबी गर्छन् ।
उनको तर्क छ कि गौशालामा बुढो र रोगी गाई तथा गोरुहरू छोडिने गरेकोले उनीहरूको मृत्यु स्वाभाविक रूपमा हुने गरेको हो । उनले सियारी गाउँपालिकाका छाडा चौपाया मात्र नभई दुर्घटनामा परेका चौपायाहरूलाई पनि प्रहरीले लिएर आउने गरेको बताए ।
यस्तो अवस्थामा जति स्याहार सुसार गरे पनि चौपायाहरूलाई जोगाउन नसकेको कुर्मीको भनाइ छ । कुर्मीले स्थानीय तहमा आफ्नो बुवासँग निर्वाचन हारेकै कारण स्थानीय केशव मिश्रा लगायतको टिमले राजनैतिक प्रतिशोध लिइरहेको आरोप पनि लगाए । “जति आरोप लगाए पनि समाजसेवा गरिरहने छु, मैदान छोडेर भाग्दैन”, कुर्मीले भने “अहिले घाँस मात्रै नहुने भएर हो, नत्र चौपायहरूको खुराकमा कुनै कमी हुन दिएको छैन ।”
गाउँपालिकाले चालु आर्थिक वर्षमा गौशाला व्यवस्थापन समितिको लागि १७ लाख रुपियाँ र वडा नम्बर ३, ४ र ५ ले एक/एक लाख रुपियाँ बजेट छुट्टाएका छन् ।

तर अहिले सम्म एक रुपियाँ पनि आफूले नपाएको उनको भनाइ छ । “छाडा चौपाया व्यवस्थापनमा समाजसेवी भावले काम गरिरहेको छु । वार्षिक २० लाख रुपियाँमा कति भ्रष्टाचार गरेको छु, प्रमाणित गर्न चुनौती दिन्छु”– कुर्मीले भने, “यसअघि नदीमा चौपायाहरूको शव व्यवस्थापन गर्दा उनै केशव मिश्राको दबाबका बाटो नै बन्द गरिदिँदा बाध्य भएर लिज लिएकै जग्गामा शव व्यवस्थापन गरिरहेका छौँ ।”
उनले शव व्यवस्थापन गर्दा १० फिट भन्दा बढी गहिरो खनेर गाड्ने गरेको कारण यसबाट कुनै जोखिम उत्पन्न नहुने दाबी गरे । व्यवस्थापन समितिको अध्यक्ष हेम कुमार कुर्मीकै भनाइलाई नै गाउँपालिकाका पशु प्राविधिकले पनि दोहोराएका छन् ।
सियारी गाउँपालिकाका पशु प्राविधिक राम चौधरीले पनि रोग र पोषणको कमीको कारण चौपायाहरू मर्ने गरेको बताए । “हामीले समय समयमा गौशालाको अनुगमन गरिरहेका हुन्छौं, पशुहरूको खुराकमा कुनै कमी आए जस्तो हामी मान्दैनौ, वृद्ध, रोगी र कुपोषित चौपायाहरू स्वाभाविक रूपमा मर्ने नै भए”, चौधरीले भने अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गौशाला आफ्नै टोलमा रहे पनि अनुगमनमा कठिनाइ आइरहेको बताइन् ।
“मेरै टोलमा गौशाला छ, हाम्रै पहलमा गौशाला निर्माण भएको हो तर म त्यहाँ जाँदा व्यवस्थापन समिति अध्यक्षले त्यहाँ किन गएको भन्दै ठाडो प्रश्न गर्छन्,” उनले गुनासो गरिन्, “प्रथम दृष्टिमै गौशालामा लापारवाही भएको देखिन्छ, आहारा नपुग्दा चौपायाहरू मरिरहेका छन् । कुनै कमी हुन नदिंदा पनि गाउँपालिका पापको भागिदार बनिरहेको छ ।”
उनले गत वर्ष पनि गौशाला व्यवस्थापनको लागि २५ लाख बजेट विनियोजन भएको जानकारी दिँदै पेस भएका बिलहरू धेरै शङ्कास्पद रहेको बताइन् । थारुले व्यवस्थापन समितिमा अर्कै गाउँका व्यक्ति भएकोले पनि कठिनाइ आइरहेको बताइन् ।
आफूले यसको सुरुदेखि नै विरोध गरिरहे पनि स्थानीय गाउँलेलाई समितिमा नराखिएको उनको भनाइ छ ।
अस्वस्थ पशुहरूलाई पनि भोकै राखेर मार्नुको सट्टा तिनीहरूको उचित हेरचाह र उपचार किन गरिएन ?
“बुढो र रोगी” भन्दै मर्न दिनु के मानवीय र नैतिक कार्य हो ? यो त व्यवस्थापन समितिको लापरबाही र गैरजिम्मेवारीपनको पराकाष्ठा हो । व्यवस्थापन समितिले पशुहरूको हेरचाहमा मात्र होइन, मृत्युपछिको व्यवस्थापनमा पनि अत्यन्तै गैर जिम्मेवार र अवैज्ञानिक तरिका अपनाएर गाउँलेहरूको जीवनमाथि खेलबाड गरेको देखिन्छ ।
गौशाला सियारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको र यो घटनाक्रम दैनिक रूपमा दोहोरिइरहँदा पनि गाउँपालिकाका जनप्रतिनिधिहरूको रहस्यमय मौनताले उनीहरूको नियतमाथि शंका उब्जाएको स्थानीयहरूको आरोप रहेको छ ।
गौशालाको अनुगमन गर्ने, व्यवस्थापन समितिले गरेका अनियमितताको छानबिन गर्ने र पशुहरूका लागि पर्याप्त बजेट र चाराको सुनिश्चितता गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूको पनि भएको स्थानीयहरूको भनाइ छ ।
भोट माग्दा धर्म र संस्कृतिको कुरा गर्ने, तर बेसहारा गाई–गोरुहरू भोकले मर्दै गर्दा आँखा चिम्लिने जनप्रतिनिधिहरूलाई जनताको सुखदुख भन्दा व्यक्तिगत स्वार्थ ठुलो भएको स्पष्ट देखिएको उनीहरूको आरोप छ ।
“जनप्रतिनिधिहरूले कि त व्यवस्थापन समितिसँगको मिलेमतोमा अनियमिततालाई ढाकछोप गरिरहेका छन्, कि त उनीहरूमा समस्या समाधान गर्ने नैतिक बल र इच्छाशक्ति नै छैन”, नाम नबताउने सर्तमा स्थानीय एक जनाले भने ।
रामजानकी गौशालाको यो कारुणिक अवस्थाले व्यवस्थापन समितिको असक्षमता र गाउँपालिकाका जनप्रतिनिधिहरूको चरम उदासीनतालाई उदाङ्गो पारेको छ । गाई–गोरुहरूलाई पर्याप्त खाना नदिई तड्पाउनु र मरेपछि गाउँ नजिकै जथाभाबी गाडेर स्थानीयलाई जोखिममा पार्नु अमानवीय कार्य हो ।