© २०२३
भैरहवा, १८ पुस ।
ओमसतिया गाउँपालिकाको १८ औँ अधिवेशन शुक्रबारबाट सुरु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि तयार गरिएको विभिन्न योजनाहरू संशोधन गर्न शुक्रबार हिउँदे अधिवेशनको पहिलो बैठक बसेको हो ।
ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को संशोधित राजस्व तथा अनुदान प्राप्तिको लक्ष्य र पौष १५ गतेसम्मको खर्च विवरण गाउँ सभामा प्रस्तुत गरेकी थिइन । संशोधित अनुमान अनुसार आन्तरिक स्रोतबाट प्राप्त हुने लक्ष्य बढाइएको छ भने हालसम्मको खर्च प्रतिशत भने न्यून देखिएको छ ।
उपाध्यक्ष चौधरीले गाउँपालिकालाई पौष १५ गतेसम्म विभिन्न स्रोतबाट भएको आयको विवरण प्रस्तुत गर्दै लक्ष्य अनुसार राजस्व प्राप्त हुन नसकेको जानकारी दिइन ।
चालु आर्थिक वर्षको पौष १५ गते सम्मको सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान तर्फ ११ करोड ६६ लाख रुपैयाँ अनुमान गरेकोमा ५ करोड ८३ लाख मात्र, समपूरक अनुदान तर्फ ४० लाख र सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनको लागि १६ करोड ५ लाख अनुमान गरेकोमा १० करोड २२ लाख २८ हजार रुपैयाँ मात्र प्राप्त भएको उनले बताइन ।
प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदान तर्फ ८० लाख ७३ हजार अनुमान गरेकोमा ४० लाख ३६ हजार ५ सय मात्र, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख अनुमान गरेकोमा ५१ लाख १५ हजार मात्र र समपूरक अनुदान तर्फ रु. ७५ लाख अनुमान गरेकोमा रु. २४ लाख ७५ हजार मात्र प्राप्त भएको चौधरीले बताइन ।
गाउँपालिकाको आन्तरिक श्रोत तर्फ ३ करोड ८७ लाख अनुमान गरेकोमा २०८२ पौष १५ गते सम्म १ करोड ३७ लाख २० हजार मात्र प्राप्त भएको छ । चालु आर्थिक वर्षमा यस गाउँपालिकाको चालु खर्च शीर्षकमा ३३ करोड ८ लाख ३४ हजार विनियोजन भएकोमा २०८२ पौष १५ गते सम्म १० करोड १५ लाख १ हजार रुपैयाँ अर्थात् ३०.६८ प्रतिशत खर्च भएको छ ।
यस्तै पुँजीगत खर्च शीर्षकमा १७ करोड १२ लाख ८० हजार विनियोजन भएकोमा २ करोड ३८ लाख ६५ हजार रुपैयाँ अर्थात् १३.९३ प्रतिशत गरी कुल खर्च १२ करोड ५३ लाख ६७ हजार रुपैयाँ अर्थात् २४.९६ प्रतिशत भएको छ । चौधरीले वर्ष २०८२/८३ का लागि गाउँपालिकाको आन्तरिक श्रोत तर्फको अनुमानमा ३० लाख वृद्धि गरी ४ करोड १७ लाख कायम हुने गरी कुल ५० करोड ५१ लाख १४ हजार २ सय १२ रुपैयाँ राजश्व तथा अनुदान प्राप्तिको संशोधित अनुमान गरिएको बताइन ।
उपाध्यक्ष चौधरीले शिव शक्ति आमा समूह, कटैया पूर्वाधार निर्माण लगायतका संशोधित योजना तथा कार्यक्रमहरू पनि सभासमक्ष प्रस्तुत गरेकी थिइन । ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकाको विकास गतिविधि, स्वास्थ्य, शिक्षा, खेलकुद र कृषि क्षेत्रको प्रगति विवरण सार्वजनिक गरे ।
उनले उपभोक्ता समितिहरूसँगको सम्झौता र खर्चको अवस्था सन्तोषजनक नभए पनि स्वास्थ्य र शिक्षामा नवीन पहल गरिएको जानकारी दिए । अध्यक्ष यादवका अनुसार, गाउँपालिकामा हालसम्म ४८ वटा योजनामा उपभोक्ता समितिसँग सम्झौता भई कार्य सुचारु भएको छ। तथापि, ३८ वटा उपभोक्ता समितिसँग सम्झौता भई कार्यान्वयन चरणमा रहेको र एक वटा योजना प्रक्रियाको चरणमा रहेको जानकारी दिइएको छ।
अध्यक्ष यादवले पूर्वाधारका केही योजनाहरू कार्यान्वयन चरणमा रहेको स्वीकार गर्दै, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गर्न प्राथमिकताका साथ काम भइरहेको बताए ।