Butwal Today

बाँके निकुञ्ज क्षेत्रका २१ युवा बने स्वरोजगार

१७ पुष २०८२, बिहीबार
अ+
अ-

नेपालगञ्ज ।

एक समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका धेरै युवाको दैनिकी वनसँगै जोडिएको थियो। घाँसदाउरा र साना वन उपजमै जीवन धान्ने बाध्यता थियो। रोजगारीको अभावले कतिपय युवा भारततिर पलायन हुन बाध्य थिए भने कतिपय घरमै बेरोजगार थिए। त्यहीँ क्षेत्रका केही युवाको जीवन सीप, मेहनत र आत्मनिर्भरताले नयाँ मोड लिन थालेको छ।

पाँच वर्षअघि बाँके राष्ट्रिय निकुञ्ज, जेडएसएल नेपाल, हिमाली प्रकृति र एनटीएनसी जस्ता संस्थाहरूको पहलमा मध्यवर्ती क्षेत्रका ३० जना युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको थियो।

नेचर गाइड, हाउस वायरिङ, पलम्बिङ, रेफ्रिजरेटर मर्मत, ड्राइभिङजस्ता तालिम त्यो समय धेरैका लागि सामान्य देखिन्थे। आज ती तालिमले युवाको भविष्य बदल्ने बलियो आधार बनाएका छन्।

तालिम लिएका ३० युवामध्ये अहिले २१ जना युवा पूर्ण रूपमा स्वरोजगार बनेका छन्। तीमध्ये १२ जना नेचर गाइडका रूपमा निकुञ्ज अवलोकन गर्न आउने पर्यटकलाई घुमाउने काम गरिरहेका छन्।

नेचरगाइड शान्ति चौधरीका अनुसार यस वर्ष दशैं–तिहार सकिएलगत्तै निकुञ्ज सफारी गर्ने पर्यटक सँधैजसो आउन थालेका छन्। पर्यटकलाई निकुञ्ज सफारी गराउने काम शान्तिजस्ता युवाहरु गर्छन्।

बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पाँच वर्ष पहिले तालिममा सिकेका सीपहरू आज व्यवहारमा उतार्ने अवसर मिलेको उनी बताउँछिन्।

शान्ति भन्छिन्,–“गत वर्ष मुस्किलले हप्तामा एक दिन पर्यटकलाई निकुञ्ज घुमाउने अवसर पाइन्थ्यो भने यस वर्ष दैनिकजसो सफारीमा लैजान पाउँदा खुसी लागेको छ।”

नेचर गाइड एसोसियसन बाँकेका अध्यक्ष भिम डाँगीले हाल आफू सहित १२ जना नेचरगाइड सफारीमा खटिने गरेको जानकारी दिए। तालिम लिएका नेचरगाइडको संख्या धेरै भएपनि प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्ने र यसअघि बाँकेमा घुम्न आउने पर्यटकको संख्या न्यून रहेकाले कतिपयले नविकरण नगरेर बसेको उनको भनाइ छ।

यस वर्ष भने निकुञ्ज घुम्न आउने पर्यटक सुरु देखि नै बढ्दै गएको छ। उनी भन्छन्, “पर्यटकको संख्या बढेकै कारण हालसम्म १२ जना नेचरगाइडले लाइसेन्स नवीकरण गरेर काम गरिरहेका छन्।”

अध्यक्ष डाँगीका अनुसार सफारीमा जाने पर्यटकसँग आधा दिन घुमाएवापत् दैनिक एक हजार र दिनभरको एक हजार पाँच सय पारिश्रमिक पाउने गरेका छन्।
मध्यवर्ती क्षेत्रका अरु दुई जना युवा ड्राइभिङ पेशामा व्यस्त छन्।

उनीहरु आफै ट्रायल पास गरेर लाइसेन्स प्राप्त गरी ड्राइभिङ पेशामा लागिसकेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार एक जना रेफ्रिजरेटर मर्मत गर्छन् भने ६ जना युवा पलम्बिङ व्यवसाय थालेका छन्।

पलम्बिङ पेशामा लागेका युवाहरूले निर्माणाधीन ठूला भवनमा ठेक्का लिएर काम गर्न थालेको अध्यक्ष खड्काले जानकारी दिए। उनीहरू स्वरोजगार मात्र होइन, अन्य युवालाई समेत रोजगारी दिन थालेका छन्।

९ जनालाई मोबाइल रिपेयरिङ सम्बन्धी तालिम दिएपनि यो तालिम उपयोगमा आउन नसकेको अध्यक्ष खड्काको भनाइ छ। उनी भन्छन्,–“मोबाइल रिपेयरिङ सम्बन्धी एड्भान्स तालिम दिन सकियो भने यो पनि उपयोगी हुनसक्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?