Butwal Today

राष्ट्रिय सभा: ५ प्रदेशसभा सांसद र ८ स्थानीय तह पदाधिकारीले भोट हाल्न नपाउने

१६ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १६ पुस ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र आठ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् भने केही निलम्बनमा परेका छन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली स्वीकृत भइसकेको छ । स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशअनुसार पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेशसभा सदस्यको नाम समावेश गरिएको छैन ।

यस्तै, स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम पनि मतदाता नामावलीमा समावेश गरिएको छैन । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिका तथा नगरपालिका अध्यक्ष/उपाध्यक्ष १४९८ जना गरी जम्मा २०४३ जनाले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया पुस १९ गतेदेखि सुरु हुँदैछ । आयोगका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । पुस २० गते दिउँसो ४ बजेसम्म नामावलीमा नाम छुटेका वा सच्याउन चाहनेले दरखास्त दिन सक्नेछन् ।

आयोगले पुस २१ र २२ गते छानबिन गरी पुस २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म समय दिइएको छ । त्यसपछि पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुँदैछ ।

२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ । यसपटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।