© २०२३
बुटवल। बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम बाआमासँग नगरप्रमुख अन्तरगत सोमबार वडा नम्बर १० र ११ मा सेवा सञ्चालन गरेको छ। यसअघि वडा नम्बर ८ र ९ मा सेवा प्रदान गरेको बुटवल उपमहानगरपालिकाले बुधबार १० र ११ मा सेवा सञ्चालन गरेको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकको स्वास्थ्यमा सुधार ल्याउनका लागि निशुल्क रुपमा सेवा सञ्चालन गरिएको बताए। उनले प्रत्येक वडामा सञ्चालन हुने कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने र सबै परीक्षण निशुल्क हुने बताए।
स्वास्थ्य परीक्षण मात्रै नभई बाआमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने उनले बताए।

उनले घरबाहिर निस्किन नसक्ने र अपांगता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए । उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरू बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए।
१९ वटै वडामा सञ्चालन हुने अभियानमा विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निःशुल्क दिइने उनले बताए।
स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधि समेत प्रदान गरिएको उनले बताए। कार्यक्रमअन्तरगत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने जेष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराएको उनले बताए।
उनले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह थपिएको बताए। उनका अनुसार अभियान सञ्चालन हुन बाँकी रहेका वडाहरुबाट समेत चासो व्यक्त गर्दै जेष्ठ नागरिकहरु अन्य वडाहरुमा सेवा लिनका लागि पुग्न थालेका छन्।