Butwal Today

प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईंलाई बुद्धको तस्बिर दिँदै भनिन् – शान्ति स्थापनाका लागि निर्वाचन अपरिहार्य

१५ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १५ पुस ।

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्था आएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरिन् ।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको बताइन् ।
‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खालका संशयहरू चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा होमिएको छ ।

यस्तो बेला सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ ।’ प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहारस्वरूप प्रदान गरिन् ।

‘हामी पनि न्यायका पक्षधर हौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयलका लागि आएका होइनौँ । भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशिला तयार पार्दै गएका छौँ ।

तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला ।’