Butwal Today

आयोगले निष्पक्ष छानबिन गरोस्, फेरि बोलाए पनि बयान दिन तयार छु: लेखक

१४ पुष २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, १४ पुस ।

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक र पूर्वाग्रहमुक्त ढंगले सुक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।

तत्कालीन अवस्थामा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लेखकले आयोगलाई यस्तै सुझाव दिएका हुन् । आइतबार आयोगसमक्ष बयान दिएका लेखकले पत्रकार सम्मेलनमा आफ्ना विचार व्यक्त गर्दै भने,

“आयोगलाई मैले निवेदन गरेको छु । आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक र पूर्वाग्रहरहित विश्लेषण गरेर अत्यन्त सुक्ष्म ढंगले अध्ययन गरी प्रतिवेदन तयार गरोस् र सरकारलाई सिफारिस गरोस्,” उनले भने ।

उनले आवश्यक परे फेरि बयानका लागि बोलाउन आयोगलाई तयार रहेको जानकारी पनि दिएका छन् । “यसले वर्तमान र भविष्यका लागि दिशानिर्देश तयार पार्नेछ । म आयोगलाई शुभकामना दिन चाहन्छु र आवश्यकता परे फेरि बोलाउनुस् भनेको छु । थप बुझ्नुपर्‍यो भने, जान्नुपर्‍यो भने, सुन्नुपर्ने भयो भने म आउँछु ।

किनभने म जवाफदेहीतामा विश्वास गर्छु । प्रश्न उठ्छन् भने प्रश्नको जवाफ दिनुपर्छ,” लेखकले थप स्पष्ट पारे ।