© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ ।
पुनः छलफल गर्ने सहमतिसहित वार्ता टुङ्गिए पनि सोमबार यो समाचार तयार पार्दासम्म थप वार्ता हुन सकेको छैन । उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गर्न उपसभापतिसहित समग्र पार्टी संरचनामा ३० प्रतिशत भागबन्डा माग गरेको थियो ।
तर रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सोमबारको वार्तामा पार्टी एकीकरणका लागि रास्वपाले बढीमा १५ प्रतिशत मात्र दिने प्रस्ताव गरेपछि कुलमान घिसिङले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता सुनिश्चित नभएसम्म कुनै पनि किसिमको एकता सम्भव नभएको जवाफ फर्काएका थिए ।
स्रोतले भन्यो, “हामीले उपसभापतिसहित सम्मानजनक स्थान माग गरेका थियौँ, तर उनीहरूले १५ प्रतिशतमा सीमित गर्न खोजे । त्यसका कारण अहिलेको अवस्थामा एकताको वातावरण बन्न सकेन ।
अब सम्भावना टर्यो भन्दा पनि हुन्छ । हामी आफ्नै ढङ्गले अगाडि बढ्छौँ । कार्यगत एकताको ढोका भने खुलै छ ।”
यसैबिच, रास्वपासँग पार्टी एकता नहुने अवस्था बनेपछि उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको बन्द सूची तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । साँझ ६ बजेसम्मको समय सीमाभित्र सबै प्रक्रिया टुङ्ग्याएर निर्वाचन आयोगमा सूची बुझाउने तयारी रहेको उक्त पार्टीले जानकारी दिएको छ ।