© २०२३
भैरहवा, १४ पुस ।
साँझको मधुरो प्रकाशमा जब मायादेवी मन्दिरको आँगनमा दीप प्रज्वलन भयो, त्यहाँ केवल धार्मिक आस्था मात्रै बलिरहेको थिएन, नेपाल र भारतका सञ्चारकर्मीहरूको साझा भावना पनि झल्किरहेको थियो ।
बुद्धको जन्मस्थल लुम्बिनी, जसले संसारलाई शान्तिको मार्ग देखायो, अहिले त्यही भूमिले दुई देशका पत्रकारहरूलाई संवाद र सहकार्यको एउटै मञ्चमा उभ्याएको छ ।
रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लबको आयोजनामा सुरु भएको तेस्रो समाचार महोत्सव (लुम्बिनी न्युज फेस्टिबल) ले यति बेला बुद्ध भूमिलाई बहस र विमर्शको केन्द्र बनाएको छ ।
महोत्सवको विशेषता भनेकै यसको ‘सीमापार’ स्वरूप हो । कार्यक्रममा नेपालका विभिन्न जिल्ला र काठमाडौँबाट मात्र नभई भारतको दिल्ली, सिक्किम, लखनऊ, अयोध्या, काशी र गोरखपुरसम्मका करिब ४० जना पत्रकारहरूको सहभागिता छ ।
शनिबार पहिलो दिन मायादेवी मन्दिरको अवलोकन र द्विप प्रज्वलनसँगै सुरु भएको थियो । कार्यक्रमको दोस्रो दिन आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले महोत्सवको उद्घाटन गर्दै भने, “नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान ऐतिहासिक छ ।” उनको सङ्केत स्पष्ट थियो— भूगोलले सीमा छुट्टाए पनि समाचार र संवेदनाले दुई देशलाई जोड्नुपर्छ ।
आचार्यले नकारात्मक समाचारले सम्बन्ध बिगार्न सक्ने भन्दै तथ्यपूर्ण र सकारात्मक सन्देश प्रवाहमा जोड दिए । उनले कार्यक्रम लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारी जस्ता स्थलहरूलाई भारतीय पर्यटकसम्म पु¥याउने माध्यम हुन सक्ने भन्दै नेपाल र भारतबिचको रोटी–बेटीको सम्बन्धलाई पर्यटकीय समृद्धिसँग आग्रह गरे ।
मोफसलमा रहेर गरिने पत्रकारिताका चुनौती र प्रेस स्वतन्त्रताको रक्षाबारे पनि महोत्सवमा गम्भीर मन्थन सुरु भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल, कान्तिपुर टेलिभिजनका सम्पादक रूपेश श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपुल पोखरेल लगायतका वक्ताहरूले पत्रकारिताको समग्र विकास र स्थानीय विषयवस्तुको राष्ट्रियकरणका बारेमा जोड दिएका छन् ।“सार्थक बहसले नै समाजलाई नयाँ दिशा दिन्छ ।
लुम्बिनीबाट सुरु भएको यो बहसले पर्यटन, संस्कृति र पत्रकारितालाई एउटै मालामा गाँस्ने विश्वास लिएका छौँ,” आयोजक संस्था लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले भने ।
महोत्सव आयोजक पक्ष तीन दिनसम्म चल्ने यो महोत्सवले केवल समाचारका मुद्दामा मात्र छलफल गर्ने छैन, बरु लुम्बिनीको शान्ति सन्देशलाई सञ्चारकर्मीहरूमार्फत विश्वभर फैलाउने उद्देश्य पनि बोकेको रायमाझीले बताए । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्युज फेस्टिबलको पहिलो सत्र ‘सीमापार सम्बन्ध: आवश्यकता र सम्भावना’ मा पत्रकारहरूले अबको पत्रकारिता केवल समस्या देखाउने मात्र नभई ‘समाधान’ खोज्ने हुनुपर्नेमा जोड दिएका छन् ।
‘फेक न्युज’ को चुनौती र आचारसंहिता
बहसमा बोल्दै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले विश्वव्यापीकरणको युगमा सीमापार सम्बन्धलाई थप पारदर्शी बनाउनुपर्ने बताईन । उनले भनिन, “एक अर्काको देशलाई लिएर सतही आरोप लगाउने र तथ्यहीन समाचार सम्प्रेषण गर्ने परिपाटीले पत्रकार स्वयम् असुरक्षित हुन्छन् । हामीले मिथ्या सूचना रोक्न नीतिगत समन्वय र दुवै देशका प्रेस काउन्सिलबिच सहकार्य गर्न जरुरी छ ।“
युरोपको ‘सेनजेन’ र हाम्रो सिमाना
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले युरोपका देशहरूको उदाहरण दिँदै सीमाको आधुनिक परिभाषा प्रस्तुत गरे । “युरोपमा सीमा मोबाइल नेटवर्कले मात्र छुट्टाउँछ, भूगोलले होइन । नेपाल र भारतबिच त झन् भाषा र संस्कारको ठुलो समानता छ,” लुइँटेलले भने, “पत्रकारले आमाको मायामा पनि प्रश्न गर्नुपर्छ तर द्वन्द्वको बेला ‘शान्ति पत्रकारिता’ बिर्सन हुँदैन । अब हामीले समस्या मात्र होइन, समाधान दिने ’सोलुसन जर्नालिजम’ गर्नुपर्छ ।“
न्यु मिडिया र भ्युजको खेती
भारतीय वरिष्ठ पत्रकार सञ्जय सिंहले न्यु मिडिया (अनलाइन÷सोसल मिडिया) बाट ९० प्रतिशत गलत सूचना प्रवाह हुने गरेको दाबी गरे । “पैसा र भ्युजका लागि तथ्य बङ्ग्याउने खेल खतरनाक छ,“ उनले भने, “राम–जानकी सर्किट र बौद्ध सर्किट (लुम्बिनी–सारनाथ–कुशिनगर) लाई जोडेर दुवै देशको पर्यटनबाट समृद्धि हासिल गर्न पत्रकारले पुलको काम गर्नुपर्छ ।”
सिक्किमदेखि लुम्बिनीसम्मको साइनो
सिक्किम प्रेस क्लबका अध्यक्ष भिम रावतले ‘नजिकको भुत’ काम लाग्ने उखान जोड्दै छिमेकीको महत्त्व दर्साए । उनले सिक्किमको अर्ग्यानिक पहिचान र नेपालको चितवन वा लुम्बिनीलाई जोडेर पर्यटन साझेदारी गर्न सकिने सम्भावना औँल्याए । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले गरेका थिए ।
पछिल्लो समय नेपाली पत्रकारितामा एउटा गम्भीर प्रश्न उठ्ने गरेको छ—के मिडिया केवल अधिकारको कुरा गर्छ कि आफ्नो जिम्मेवारीप्रति पनि उत्तिकै सचेत छ? बुद्ध जन्मस्थल लुम्बिनीमा जारी ‘तेस्रो न्युज फेस्टिबल’ को दोस्रो सत्रमा यिनै पेचिला प्रश्नहरूमाथि ठूला मिडियाका सम्पादक र नियमनकारी निकायका प्रमुखहरूबिच रोचक ‘पोस्टमार्टम’ भयो ।
बहसको केन्द्रमा थियो— पत्रकारिताको साख, प्रविधिको चुनौती र समाजले हेर्ने दृष्टिकोण
“सरी“ र “थ्याङ्क्यू“ भन्न नसक्ने मिडिया
अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले पत्रकारिताको एउटा मानवीय तर बिर्सिएको पाटो उधिने । मिडियाले सधैँ सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी समाचार त लेख्छौँ, तर गल्ती हुँदा ‘सरी’ भन्न र राम्रो कामको लागि ‘धन्यवाद’ दिन कन्जुस्याइँ गर्छौँ ।” भण्डारीले राजनीतिज्ञहरूले मिडियालाई हेर्ने दृष्टिकोणका कारण उत्पन्न भएको भ्रमबारे पनि कडा टिप्पणी गरे ।
विशेष गरी रास्वपा सभापति रवि लामिछानेले दिएको ‘१२ भाइ’ को संज्ञाले असल पत्रकारहरूलाई पनि समाजले शङ्काको घेरामा राख्ने परिस्थिति सिर्जना गरेको उनको तर्क थियो । उनले चेतावनी दिँदै भने “यदि मिडिया प्रविधिसँगै हिँड्न सकेनन् भने तिनीहरू ‘डाइनोसर’ जस्तै लोप हुनेछन् ।”
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले चौथो अङ्गको मर्यादा भुल्न नहुनेमा जोड दिए । उनका अनुसार समाचारको प्रमाणीकरण र तहगत सम्पादन बिना समाचार प्रवाह गर्नु भनेको समाजमा डढेलो लगाउनु जस्तै हो । “मिडियाहरू बढी अधिकारमुखी मात्र भए, अब जिम्मेवारीमुखी बन्ने बेला आएको छ । कर्तव्य पालना गरे अधिकार आफैँ प्राप्त हुन्छ,” आचार्यले स्पष्ट पारे ।
निजी क्षेत्रको आँखामा मिडियाको ‘ऐना’
उद्योग वाणिज्य महासङ्घ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले भने मिडियाले सत्य तथ्य नबुझी समाचार लेख्दा अर्थतन्त्रमा पर्ने असरबारे गुनासो गरे । ढुङ्गा, गिटी र बालुवा निर्यातबारे हचुवामा लेखिएका समाचारले रोजगारी गुमेको दाबी गर्दै उनले भने “मिडिया हाम्रो लागि ऐना हो, तर त्यो ऐना धमिलो हुनुभएन ।” उनले भारतीय मिडियाले पनि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्यलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
पत्रकारिता: अनुभव कि योग्यता ?
पत्रकारिताकी अध्येता मीनाक्षी न्यौपानेले एउटा आधारभूत तर महत्त्वपूर्ण प्रश्न उठाइन “मिडियामा काम गर्ने सबै पत्रकार हुन् त ?” पत्रकार हुनका लागि केवल अनुभव मात्र होइन, विषयगत शैक्षिक योग्यता र विशेष दक्षता पनि चाहिने उनको तर्क थियो ।
तेस्रो सत्र “लुम्बिनी: लगानी र पर्यटनको सम्भावना” मा लुम्बिनीलाई केवल एउटा पर्यटकीय स्थलका रूपमा मात्र नभई विश्वकै ‘आध्यात्मिक ऊर्जा केन्द्र’ का रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विज्ञहरूले लुम्बिनीको वास्तविक सामथ्र्य यसको आध्यात्मिक पक्ष नै भएको बताए ।
गुरुयोजनाको मर्म र यथार्थ
लुम्बिनीको गुरुयोजनाले यस क्षेत्रलाई ‘पवित्र उद्यान’ को रूपमा परिभाषित गरेको छ । तर, व्यवहारमा यसलाई साधारण पर्यटकीय स्थल जस्तो बनाइनु विडम्बनापूर्ण रहेको लुम्बिनी होटल सङ्घका अध्यक्ष लिलामणि शर्माले बताए । लुम्बिनीलाई शुद्ध आध्यात्मिक केन्द्र बनाउने हो भने विश्वभर छरिएका करिब १ अर्ब बौद्ध धर्मावलम्बीहरूलाई यहाँ आकर्षित गर्न सकिने ठुलो सम्भावना रहेको उनले बताए ।
कोषको घेरा बाहिरको बेवास्ता
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले सरकारको ध्यान लुम्बिनी विकास कोषको ’चार पर्खाल’ भित्र मात्र सीमित भएको गुनासो गरिन् । बाह्य क्षेत्रको विकास र फोहोर व्यवस्थापनमा नगरपालिकाले पहल गरिरहेको उनले जानकारी दिइन् ।
बजेटको अभाव र गुरुयोजना:
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार पर्याप्त बजेट नहुँदा गुरुयोजना सम्पन्न हुन ढिलाइ भएको हो । उनले लुम्बिनीलाई शान्ति र सहअस्तित्वको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सरकारले पर्यटकमैत्री नीति बनाउने र निजी क्षेत्रले लगानी गर्ने वातावरण सिर्जना गर्न सुझाव दिइएको थियो ।
लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र सङ्घको निर्देशन र नेपाल सरकारको योजना र बजेट भन्दा बाहिर गएर जथाभाबी लगानी र काम गर्न पाउँदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गरे ।
“पर्यटनमा लगानी सरकारले गर्ने होइन, व्यवसायीले गर्ने हो । सरकारले त केवल मार्ग प्रशस्त गरिदिने र नीतिगत सहजता ल्याइदिने हो ।” कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रूपेश श्रेष्ठको भनाई थियो ।
लुम्बिनीका उद्यानहरूलाई विश्वभरका बौद्ध मार्गीहरू आएर ध्यान गर्ने ध्यान केन्द्र बनाउन राज्य र निजी क्षेत्रले विशेष योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिए । यो सेसनको सहजीकरण क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले गरेका थिए ।