अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११, कालीखोला (बोक्से) क्षेत्रमा विभिन्न किसिमका विस्फोटक पदार्थ तथा भरुवा बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस बि.जि.सी.को नेतृत्वमा संयुक्त एलआरपी गस्ती टोली गस्तीका क्रममा सो स्थानमा पुगेको थियो। गस्तीका क्रममा पुरानो र हाल कसैले नबस्ने एक गोठभित्र वेवारिसे अवस्थामा विस्फोटक पदार्थ तथा हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोठभित्रबाट भरुवा बन्दुक २ थान, ग्रिनेड १४ थान, डेटोनेटर १२ थान, प्लास्टिकका पाइपजस्ता वस्तु ५ थान, ५ लिटर क्षमताको प्रेशर कुकर बम १ थान, स्टिलको डल्लु बम १ थान, विद्युतीय तार ४ बन्डल तथा करिब ५०० ग्राम बारुद बरामद गरिएको हो ।
उक्त स्थानमा सञ्चार सम्पर्क समेत नहुने र कृषि क्षेत्र भएकाले सर्वसाधारणको सहज पहुँच नरहेको प्रहरीले जनाएको छ । फेला परेका विस्फोटक पदार्थलाई निष्क्रिय (डिस्पोज) गर्न नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) राजेन्द्र प्रसाद भट्टले विस्फोटक पदार्थ तथा केही भरुवा बन्दुक फेला परेको पुष्टि गर्दै, कसले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।