© २०२३
भैरहवा, २४ मंसिर ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर -३ ले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सर्वसम्मत रूपमा चयन गरी सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिको २२ गते बसेको बैठकमा सुरु भएको छलफल २३ गते सम्पन्न भई उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लगाइएको हो । बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि सर्वसम्मत रूपमा नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती सुशील गुरुङ्गका अनुसार सिफारिस गरिएका अन्य नामहरूमा सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्री रहेका छन् ।
बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ विभिन्न क्लस्टर मिलाएर तीन जनाको नाम सिफारिस गरेको छ । जसमा अल्पसंख्यकबाट जन्नतुन निशा धुनिया, थारु कोटाबाट पुष्पा थरुनी र महिला कोटाबाट माधवी शर्मा रहेका छन् ।
त्यस्तै, राष्ट्रिय सभा सदस्य पदका लागि चार जनाको नाम सिफारिस गरिएको छ । खस आर्यबाट सोमनाथ शर्मा र भिम प्रसाद न्यौपाने, अपाङ्गता भएको क्षेत्रबाट मिननाथ शर्मा तथा अल्पसंख्यकबाट मोहन सरदारको नाम सर्वसम्मत चयन भएको क्षेत्रीय समितिले जनाएको छ ।
मंसिर २२ र २३ गते चलेको बैठकले पार्टी भित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै सर्वसम्मत रूपमा उम्मेदवार छनौट गरेको हो । सिफारिस गरिएका नामहरू जिल्ला कार्यसमिति हुँदै केन्द्रमा पठाइनेछ, जहाँबाट अन्तिम निर्णय हुने वैधानिक व्यवस्था रहेको छ ।