© २०२३
कपिलवस्तु, ०६ मङ्सिर ।
कपिलवस्तु जिल्लाका दुई वटा एआरटी सेन्टरमा ६ सय २३ जना एचआईभीका सङ्क्रमितले नियमित रूपमा एआरटी सेन्टरबाट एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएको देखिएको छ ।
एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) ले आयोजना गरेको जिल्ला स्तरका सरोकारवाला बिचको समन्वय बैठकमा सो जानकारी दिइएको हो । तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सञ्चालन गरेको एआरटी सेन्टरमा २०८२ असोज मसान्त सम्मको अवधिसम्म ८ सय २३ जना एचआइभी सङ्क्रमित दर्ता भएको देखिएको छ ।
जसमध्ये ४ सय ९० सङ्क्रमितले निरन्तर रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) औषधी सेवन गर्दै आएको कपिलवस्तु अस्पतालका मेडिकल रेकर्ड अधिकृत संजय कोईरीले जानकारी दिए ।
जस मध्ये २ सय १९ जना महिला, २ सय २० जना पुरुष, १५ जना यौनिक अल्पसङ्ख्यक, १९ जना १५ वर्ष मुनीका बालक र १७ जना १५ वर्ष मुनिका बालिका रहेको उनले स्पष्ट पारे । असोज महिनामा मात्रै ४ जना नयाँ सङ्क्रमित एआरभी औषधिका लागि थपिएको उनले जनाए ।
उता महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रका एआरटी परामर्शदाता देवराज चौधरीका अनुसार सो सेन्टरमा हाल सम्म १ सय ७७ जना सङ्क्रमितले नाम दर्ता गराएका छन् । जस मध्ये हाल १ सय ३३ जनाले नियमित एआरभीको औषधी सेवन गर्दै आएको देखिएको छ ।
महाराजगन्ज एआरटी सेन्टरमा एआरभीको सेवा लिनेहरूमा ६४ जना पुरुष, ५५ जना महिला, २ जना यौनिक अल्पसङ्ख्यक, ५ जना १५ वर्ष मुनीका बालक र ७ जना १५ वर्ष मुनिका बालिका रहेको उनले जनाए ।
दुवै एआरटी सेन्टरको तथ्याङ्कले हाल सम्म जिल्लामा १ हजार जना एचआइभी सङ्क्रमित दर्ता भएको र ६ सय २३ जनाले एआरभीको सेवन गर्दै आएको देखिएको छ ।
एआरटी सेन्टरमा सङ्क्रमितलाई दिइने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले सङ्क्रमितको शरीरमा रहेको एचआइभीको भाइरल लोड कम गर्ने काम गर्दछ । जसका कारण सङ्क्रमितले अरूलाई सङ्क्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्दछ ।
त्यसै गरी एआरभीका कारण शरीरमा सिडीफोर सेलको सङ्ख्यामा वृद्धि आई रोग सँग लड्न सक्ने क्षमतामा सुधार आउँदै जान्छ । कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) र नमुना एकीकृत विकास परिषद् नेपालले परामर्शदाता र स्वास्थ्यकर्मी खटाएर सहकार्य गर्दै आएको छ ।
कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेन्टरमा एएचएफबाट खटिएकी परामर्शदाता कुसुम थापाले सङ्क्रमितले औषधी उपचारमा निरन्तरता नदिने विषयले चुनौती थप्ने गरेको बताइन ।
कतिपय यौनिक अल्पसङ्ख्यकहरू मौसमी रोजगारीमा जाने क्रममा बिचमै एआरभीको औषधी छोड्ने गरेको, कतिपय सङ्क्रमितले नै जोखिमपूर्ण व्यवहार गर्न खोजेको लगायतका समस्या रहेको उनले अनुभव सुनाइन ।
एआरटी सेन्टरमा सेवा लिई रहेका सङ्क्रमितको हरेक ६,६ महिनाको अवधिमा अनिवार्य बेसलाईन अनुगमन गर्ने र सो क्रममा विभिन्न स्वास्थ्य परीक्षण गरिने भएकाले समेत सङ्क्रमितहरू एआरटी सेन्टरको सम्पर्कमा बस्नुपर्ने उनले सुझाव दिइन ।
हालसम्म एआरटी सेन्टरमा सेवा लिन आएका सङ्क्रमितहरू मध्य सबै भन्दा बढी सङ्क्रमण मौसमी रोजगारीमा जाने व्यक्ति र तिनका परिवारका सदस्य, यौनिक अल्पसङ्ख्यक र यौनकर्मी महिलाहरूमा देखिएको जनाइएको छ ।