© २०२३
रोटरी एक विश्वव्यापी सामाजिक सेवा गर्ने संस्था हो, जहाँ विभिन्न पेशा र क्षेत्रमा काम गर्ने व्यक्तिहरू समाजको हितका लागि एकजुट हुन्छन्। यसको उद्देश्य शान्ति, सहयोग, समुदाय विकास र मानवीय सेवा प्रदान गर्नु हो। रोटरीको मूल मन्त्र “Service Above Self” (सेवाभन्दा माथि केही छैन) हो, जसले सदस्यहरूलाई स्वेच्छाले समाजमा योगदान गर्न प्रेरित गर्छ।
यिनै मान्यताका आधारमा Rotary Club of Butwal Chautari, स्थापना मिति २०७६ भदौ २३ (9th September 2019) देखि सामाजिक क्षेत्रमा निरन्तर सक्रिय छ। क्लबले विद्यालय रंगरोगन र सिकाइ वातावरण सुधार, विद्यार्थीलाई अध्ययन सामग्री वितरण, स्वास्थ्य शिविर तथा रक्तदान, वृक्षारोपण, वातावरण संरक्षण, विपद् राहत, महिला सशक्तीकरण, समुदाय विकास, युवा नेतृत्व विकास तथा करियर मार्गदर्शनजस्ता असरदार परियोजनाहरू सञ्चालन गर्दै आएको छ। साथै, क्लबले एम्बुलेन्स वितरण गरी आपतकालीन स्वास्थ्य सेवा सुदृढ गर्न योगदान पुर्याएको छ र योग्य तथा आवश्यकता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँच विस्तारमा सहयोग पुर्याइरहेको छ।
यही क्रमलाई अघि बढाउँदै क्लबले अहिले “विद्यालयसँग रोटरी” नामक नयाँ कार्यक्रम सुरु गर्दैछ, जसको सुरुवात नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालय, देविनगर, बुटवलबाट हुँदैछ।
यस कार्यक्रम र क्लबको सम्पूर्ण यात्रामा डॉ. विष्णु घिमिरे, रोटरी क्लव अफ बुटवल चौतारीका चार्टर अध्यक्ष तथा कैडर, निरन्तर मार्गदर्शन र नेतृत्व प्रदान गर्दै आएका छन्, जसले क्लबलाई प्रभावकारी सेवा परियोजनातर्फ उन्मुख गराएको छ। प्रस्तुत छ– यिनै सन्दर्भमा केन्द्रित रहेर डा. घिमिरेसँग गरिएको कुराकानी ।
रोटरी के हो?
-रोटरी एक विश्वव्यापी सामाजिक सेवा गर्ने संस्था हो, जहाँ विभिन्न पेशा र पृष्ठभूमिका व्यक्तिहरू समाजको हितका लागि एकसाथ काम गर्छन्। यसको मुख्य उद्देश्य शान्ति, सहयोग, समुदाय विकास र मानवीय सेवा प्रदान गर्नु हो। “Service Above Self” को मूल मन्त्रअनुसार रोटेरियनहरूले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् राहत र युवाको विकासजस्ता क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्।
“विद्यालयसँग रोटरी” कस्तो कार्यक्रम हो ?
-“विद्यालयसँग रोटरी” भनेको Rotary International र Rotary District द्वारा सञ्चालन भइरहेको TEACH कार्यक्रमका लक्ष्यहरू पूरा गर्न सुरु गरिएको एक शैक्षिक सहयोगमूलक अभियान हो। यस कार्यक्रमअन्तर्गत विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्ने, विद्यार्थीको सिकाइ स्तर बढाउने, शिक्षक-विद्यार्थीलाई आवश्यक सहयोग पु-याउने तथा शिक्षा क्षेत्रमा दिगो प्रभाव पार्ने उद्देश्य राखिएको छ। यही लक्ष्यलाई अघि बढाउँदै Rotary Club of Butwal Chautari ले स्थानीय विद्यालयहरूसँग सहकार्य गर्दै “विद्यालयसँग रोटरी” कार्यक्रम सञ्चालन गरेको हो।
रोटरी चौतारीले “विद्यालयसँग रोटरी” कार्यक्रमअन्तर्गत कस्ता–कस्ता गतिविधिहरू सञ्चालन गर्छ?
-यस कार्यक्रमअन्तर्गत Rotary Club of Butwal Chautari ले विद्यालयहरूको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्छ। क्लबले विद्यालय रंगरोगन, विद्यालयमा शौचालय निर्माण तथा सुधार, डेस्क-बेञ्च वितरण, विद्यार्थीलाई विद्यालय पोसाक वितरण, शिक्षकहरूका लागि आवश्यक तालिम, ट्राफिक जनचेतना कार्यक्रम, विद्यार्थीहरूलाई वित्तीय छात्रवृत्ति, स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षणजस्ता बहुआयामिक कार्यक्रमहरू संचालन गर्दछ। यी सबै गतिविधिहरूको उद्देश्य विद्यालय वातावरण सुधार गर्दै विद्यार्थीसँगै सम्पूर्ण विद्यालय समुदायलाई सशक्त बनाउनु हो।
-“विद्यालयसँग रोटरी” कार्यक्रम क्लबको स्थापना दिनदेखि नै निरन्तर रूपमा सञ्चालन हुँदै आएको दीर्घकालीन पहल हो। यस वर्ष शंकर मावि, शुद्धोधन–रुपन्देहीका विद्यार्थी अञ्जल चापागाईं र प्रशान्त खनाललाई वित्तीय छात्रवृत्ति, पोसाक र कपी वितरण गरिएको छ भने लुम्बिनीमा १३५ जना विद्यार्थीलाई विद्यालय पोसाक प्रदान गरिएको छ। भोलि बुटवलको नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालयमा पनि दुईवटा कार्यक्रम सञ्चालन हुनेछन्। यसरी रोटरी चौतारीले हरेक वर्ष विभिन्न विद्यालयहरूमा निरन्तर रूपमा यो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।
यो कार्यक्रमको खर्च कसरी व्यवस्थापन हुन्छ ?
-यो कार्यक्रम सञ्चालन गर्नको लागि खर्च Rotary Club of Butwal Chautari को व्यवस्थापनमार्फत पूरा गरिन्छ। क्लबमा संकलित सदस्यता शुल्क, सदस्यहरूको स्वेच्छिक योगदान र केही अक्षयकोषबाट आउने ब्याज मार्फत आवश्यक कोष जुटाइन्छ। यी स्रोतबाट संकलित रकमको सदुपयोग गरी “विद्यालयसँग रोटरी” कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ
अन्तिममा के भन्न चाहनुहुन्छ?
-अन्तिममा, यस्तो अवसर दिनुभएकोमा Butwal Today परिवारलाई धन्यवाद दिन चाहन्छौँ। यसैगरी, हामीलाई विश्वास गर्ने अक्षयकोषदाता, हाम्रो क्लबका सम्पूर्ण सदस्यहरू र रोटेरियनहरूलाई माया गर्ने तपाइं सबैलाई सम्मान व्यक्त गर्न चाहन्छौँ। जय रोटरी, जय चौतारी!