© २०२३
काठमान्डौ, २६ कार्तिक ।
सरकारको निर्देशनमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको औपचारिक वर्गीकरण प्रक्रिया सुरु भएको छ । गृह मन्त्रालयले मंगलबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै यथाशीघ्र वर्गीकरण कार्य सम्पन्न गरी विवरण पठाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाले पठाएको परिपत्रअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याउन भनिएको छ ।
परिपत्रमा प्रत्येक जिल्लामा वर्गीकरण सहजीकरण समिति गठन गर्न, सात दिनको सार्वजनिक सूचना प्रकाशित गर्न र सोही अवधि भित्र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
गृह सचिवस्तरीय निर्णयअनुसार, यसअघि नै ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका व्यक्तिहरूले आफूलाई पायक पर्ने जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट वर्गीकरण प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ ।
वर्गीकरण सम्पन्न भएपछि जिल्ला समितिहरूले तयार गरेको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनुपर्नेछ । सो विवरणको प्रतिलिपि गृह मन्त्रालयमा पनि पेश गर्न भनिएको छ ।