Butwal Today

राष्ट्रिय परिचयपत्रको तथ्याङ्क मतदाता नामावलीमा

२६ कार्तिक २०८२, बुधबार
अ+
अ-

बुटवल, २६ कार्तिक ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने गृहकार्य अगाडि बढेको छ । यसका लागि निर्वाचन आयोगले काम गरिरहेको छ ।

राष्ट्रिय परिचयपत्रको तथ्याङ्कलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न सकिने विषयमा सुझाव आएको र आयोगले आन्तरिक रूपमा काम गरिरहेको आयोगले जनाएको छ ।

‘यदि यो सम्भव हुने भयो र अगाडि बढ्ने भयो भने सार्वजनिक रूपमा यसबारे आयोगले धारण सार्वजनिक गर्नेछ’ आयोगका एक अधिकारीले भने । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले नै पनि यो सम्भावनाको विषयमा ख्याल गर्न निर्वाचन आयोगलाई भनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागको प्रणालीमा रहेका तथ्याङ्कलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न मिल्ने व्यवस्था गर्न आवश्यक प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाउन आयोगलाई भनेकी हुन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरिसक्नुपर्ने समय सीमा छ ।

मतदाता नामावली दर्ता गर्ने अन्तिम समय नजिकिँदा देशभरका दर्ता केन्द्रमा भीड बढेको र सर्भरमा समेत समस्या आएको भनेर कतिपयले गुनासो गरिरहेका बेला राष्ट्रिय परिचयपत्रको तथ्याङ्कलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने विकल्पमाथि छलफल भएको हो ।

मतदाता नामावली सङ्कलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था भए समय थप गर्न सकिने प्रधानमन्त्री कार्यालयको सन्देश छ । प्रधानमन्त्री कार्यालयले आवश्यक परे मतदाता नामावलीमा नाम दर्ता गरिसक्नुपर्ने कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न सकिने समेत भनेको छ ।

यसबारे आवश्यक सहजीकरणको लागि गृह मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।खास गरी प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदा समेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र अशक्त व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको कतिपयको गुनासो छ ।

प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्य समय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न माग गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग गरिएको हो ।

हाल सञ्चालन भइरहेको मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा बायोमेट्रिक दिने लगायतका प्राविधिक समस्याले निर्धारित मितिमा सबैले मतदाता नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको रास्वपाको निष्कर्ष छ ।

यस्तो निष्कर्षसहित रास्वपाले गृहमन्त्रीलाई पत्र बुझाउँदै भनेको छ, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक दिनमा देखिएको समस्या समाधान गर्न तथा समयावधि थप गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?