Butwal Today

नेपाल जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २३ कार्तिक ।

नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय तथा प्रदेशस्तरीय संरचना विस्तार गरेको छ । फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान सञ्चालन गर्दै भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताविरुद्ध आन्दोलन जारी राख्ने जनाएको छ ।

हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले विभिन्न विभागका सदस्यहरू र सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको छ । यसमार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने फ्रन्टले जनाएको छ ।

फ्रन्टका केन्द्रीय विभागीय सदस्यमा जनसम्पर्क समितिका रितु खड्का, अभियान समितिका अमृता बन र सूचना प्रविधि समितिका संविधान प्रसाईं रहेका छन् ।

त्यस्तै, प्रदेशस्तरीय सम्पर्क व्यक्ति क्रमशः प्रदेश नं. १ मा रोहन दंगाल, मधेश प्रदेशमा मोहम्मद नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्ट तोकिएका छन् ।

फ्रन्टले सबै जेन–जी, युवा, विद्यार्थी तथा सचेत नागरिकलाई भ्रष्टाचार र कुशासनविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेको छ । साथै, फ्रन्टसम्बन्धी थप जानकारी वा सुझावका लागि सम्बन्धित प्रदेश सम्पर्क व्यक्ति वा केन्द्रीय प्रतिनिधिसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

जेन–जी आन्दोलनका अगुवा रक्षा बमको संयोजकत्वमा १४ कात्तिकमा ‘नेपाल जेन–जी फ्रन्ट’ औपचारिक रूपमा घोषणा गरिएको हो । बमको संयोजकत्वमा गठित फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता सदस्यका रूपमा रहेका छन् ।

मोर्चाले जेन–जी विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्दै, विद्रोहसँगै गठन भएका विभिन्न जेन–जी समूहहरूलाई संस्थागत रूपले समेट्ने दीर्घकालीन उद्देश्य राखेको जनाएको छ ।