Butwal Today

माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो : राम कार्की

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १८ कात्तिक ।

माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर पूर्ण रूपमा सकिएको टिप्पणी गरेका छन् ।

कार्कीका अनुसार माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोध सतहमा ल्याएको थियो । यदि त्यो सकारात्मक ऊर्जा राजनीतिमा प्रयोग हुन सकेको भए मुलुक रुपान्तरित हुन सक्थ्यो ।

तर, माओवादी पार्टी संसदीय राजनीतिमा रुमल्लिएर सकेको उनले निष्कर्ष निकालेका छन् ।

ललितपुरमा आज आयोजित वाम ध्रुवीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा माओवादी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, ‘फेरि सशस्त्र संघर्ष नै निरन्तर लैजानु सम्भव थिएन, तर संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो ।’

सशस्त्र संघर्ष रोकिएपछि माओवादीले नयाँ बाटो समात्न नसकेको कार्कीले स्वीकारेका छन् । उनले अब शान्तिपूर्ण तर जुझारु संघर्ष आवश्यक रहेको बताएका छन् ।

उनले कटाक्ष गर्दै भने, ‘हाम्रा नेताहरू ७५ वर्ष पुगिसक्दा पनि म छैन भने मेरो पार्टी रहँदैन भनेर हिँडिराखेका छन् । यो स्थितिको अन्त्य हुनुपर्छ ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कूशासनको परिणाम भएको भन्दै कार्कीले नेताहरूमा अझै पनि ग्लानीभाव नदेखिएको र क्षमासमेत मागिएको छैन भनी आक्रोश व्यक्त गरे ।

उनले भने, ‘लगातार बिसौं वर्षदेखि वा अझ भनौं ५०औं वर्षदेखि चलेको कूशासन विस्फोट भएको छ । तर, त्यो कूशासनका हर्ताकर्ताहरू अहिलेसम्म जनताको अगाडि आएर क्षमा मागेका छैनन्, जनतालाई माफी मागेका छैनन्, किसानको चित्त बुझेन, नेपाली नवयुवाहरू अनिश्चित भविष्यका लागि विदेशमा दुःखजिलोमा बाध्य छन् ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले एकता गर्ने तयारी गरेको अवस्थामा त्यसमा असन्तुष्टि जनाउँदै कार्की, जनार्दन शर्मा, अन्जना विशंखे लगायतका नेताले छुट्टै मोर्चा बनाउन तयारी गरेका छन् ।

असन्तुष्ट पक्षले प्रचण्डसँग असन्तुष्टि जनाउँदै ललितपुरमा पत्रकार सम्मेलन गरी वाम ध्रुविकरण घोषणा गरेको छ ।

यो असन्तुष्ट पक्ष एकीकृत समाजवादीका झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालबीच मोर्चाबन्दी गर्ने तयारीमा रहेको छ ।