© २०२३
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन् । उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो । यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सामाजिक विकासका विषयमा केन्द्रित यो सम्मेलनले विश्वका देशबीच सहकार्य र साझा प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनेछन् ।