Butwal Today

रवि र छविको मुद्दाको सुनुवाइ आज

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १३ कार्तिक ।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर–बुटवल इजलासमा हुँदैछ ।

उच्च अदालतका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा दुवै प्रतिवादीको मुद्दा सुनुवाइका लागि पेश हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएको भन्दै संयुक्तरूपमा सुनुवाइ गर्न आदेश गरेको थियो ।

लामिछानेले बिगो रकम बुझाइ थुनाबाहिर रहेर मुद्दा लड्न अनुमति दिन माग गरेपछि उच्च अदालतले उनको निवेदनसँगै जोशीको फाइल पनि एकैपटक पेश गर्न निर्देशन दिएको थियो । यसअघि उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश पनि गरेको थियो ।

जेन–जी आन्दोलनका क्रममा उच्च अदालत तुल्सीपुर–बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दासम्बन्धी फाइल सुरक्षित रहेको अदालत स्रोतले जनाएको छ ।

रवि लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँको बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । उनले त्यस रकमको चार भागमध्ये आफ्नो एक भाग बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतस्वरूप दाखिला गरी रिहाइको माग गरेका थिए ।

तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको निवेदन अस्वीकार गर्दै रिहा नगर्ने आदेश दिएको थियो । त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनः निवेदन दर्ता गराएका हुन् ।

जोशीले पनि लामिछानेकै सरह रकम जमानतका रूपमा पेस गरेका छन् । तर, दुवैको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नहुँदा रिहा गर्न नमिल्ने आदेश जारी गरिएको थियो ।

हाल लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी अझै पनि भैरहवा कारागारमै छन् ।