© २०२३
कपिलवस्तु, ११ कार्तिक ।
विगतमा पूर्वी मधेसका जिल्लामा मनाइने छठ पर्व पछिल्लो समय सबै समुदायको साझा पर्वको रूपमा विकास भएको छ । छठ पर्वलाई अहिले देशैभर राष्ट्रिय पर्वको रूपमा मनाउन थालिएको छ ।
कपिलवस्तु सहितका अन्य जिल्लामा मधेसी हिन्दु समुदायले मात्रै मनाउने छठ पर्व अहिले देशैभर अन्य समुदायले समेत उत्साहपूर्वक मनाउन थालेका छन् ।
देशैभर उत्साहपूर्वक मनाउन थालिएको छठ पर्व सबै समुदायको साझा पर्वको रूपमा मनाउन थालिएकोमा खुसी लागेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ चौक बजारका सेवा निवृत्त प्रधानाध्यापक सूर्यनारायण कर्णले बताए ।
“आज भन्दा ४० वर्ष अघि पूर्वी मधेसमा पुर्खाेली थलो रहेका ४/५ परिवारले मात्रै छठ मनाउने गरेका थियौँ । पहिले सीमित ठाउँमा मनाउँथ्यौँ, अहिले जिल्लाभर सबै समुदायले उत्साहपूर्वक मनाउँछन् ।
छठ पर्व अहिले सबै समुदायको साझा पर्वको रूपमा विकास भएकोमा सार्है खुसी लागेको छ,” उनले भने । सुरुका वर्ष तौलिहवामा बाल मन्दिरको पोखरी हुँदै राष्ट्रिय वाणिज्य बैङ्क छेउको पोखरी, जमुवारको चपरतल्लाको जमुवारखोलाको छठ स्थल हुँदै अहिले बाणगंगा नदीको रामघाटमा छठ भव्य रूपमा मनाउने गरिएको उनले जानकारी दिए ।
छठ पूजामा छुवाछूत, ठूलो सानो, धनी, गरिब र वर्ग विभेदको विषय नहुने भएकाले यो पर्व साझा पर्वको रूपमा विकास भएको उनको ठम्याई छ । “छठ पर्व तराई देखि पहाड सम्मको सर्व स्वीकार्य र साझा पर्वको रूपमा देखिएको छ,” कर्णले भने ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार जिल्लाका सबै पालिकाका ६५ बढी स्थानमा छठ घाटको निर्माण गरी छठ पूजन गरिएको छ । सबै छठ पुजनस्थलमा सुरक्षाको प्रत्याभूतिका लागि सुरक्षाकर्मी खटाइएको छ । छठ पर्वको पहिलो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
तौलिहवास्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारको चपरतल्ला, बाणगंगा नदीको रामघाट, वर्गदीघाट, चन्द्रौटा, कृष्णनगरको सुरई नदी तथा ताल तलैयाहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा गरिएको छ ।
अर्घ्य दिनु अघि नदी किनारामा पूजा स्थल निर्माण गरी प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामग्री र फलफूलको प्रसाद राखी पूजा गरिएको थियो ।
सोमबार जिल्लाका विभिन्न स्थानमा रहेका खोला र तालहरूमा श्रद्धालुले साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ । त्यसै गरी आज बिहानको उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने प्रचलन रहेको छ ।
आज श्रद्धालुले स्नान पश्चात् अस्ताउँदो सूर्य लाई अर्घ दिई दिन भर व्रतमा बसी रात भर भजनकिर्तन गरी जाग्राम बस्ने गर्दछन् । छठ पर्व साम्प्रदायिक सद्भावको साझा पर्वको रूपमा विकास भएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ की सविता श्रेष्ठले बताइन ।
आफूहरू विगत २७ वर्ष देखि व्रत बसेर छठ पूजा गर्दै आएको उनले जानकारी दिइन । “श्रद्धापूर्वक गरिएको छठपुजनले सबैका मनोकामना पुरा हुन्छ । यो वर्ष आस्था र साम्प्रदायिक सद्भावको साझा पर्व बनेको छ,” उनले भनिन ।
२०५५ सालमा पहाडी समुदायबाट तौलिहवा सागरटोलकी स्वर्गीय सावित्री गुरुङले छठको व्रत र पूजा सुरु गरे सँगै यहाँका पहाडी समुदाय समेत सो पर्व सँग जोडिएको उनले जानकारी दिइन ।
“सानो समूहबाट सुरु भएको छठ पूजन अहिले आस्थाको मेलाको रूपमा विकसित भएको छ । यसले नयाँ पुस्तालाई संस्कार सिकाउनुका साथै धार्मिक पर्वकै कारण पुजनस्थलमा व्यापार प्रबद्र्धनमा समेत भूमिका खेलेको छ,” उनले थपिन ।
विगत ८ वर्ष यता छठको व्रत बसेर छठ पूजन गर्दै आएकी वडा नम्बर १ नयाँ टोलकी सम्झना कोइरालाले छट्ठी माताको पुजनले मनोकाङ्क्षा पुरा हुने बताइन ।
छठ पर्वमा बर्सेनि श्रद्धालुहरूको सङ्ख्या बढ्दै जानु खुसीको विषय भएको उनले बताइन । उता जिल्लाको मायादेवी वडा नम्बर १ सेमरामा छठपुजनस्थल निर्माण गरी छठ पूजा गर्दै गरेकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री सुस्मा यादवले छठ पर्व अब सबैको साझा पर्व बनेको भन्दै खुसी व्यक्त गरिन । छठ पर्व अब तराई मधेसको पर्व मात्रै नभएर देशकै पर्व भएको उनले बताइन ।